चिकित्सा शिक्षा क्षेत्रको सुधार तथा कोरोना संक्रमणबारे विभिन्न माग राख्दै विगत २४ दिनदेखि आमरण अनसनमा बसिरहेका डाक्टर गोविन्द केसीसँग वार्ताको माध्यमबाट समस्या समाधानमा उदासिन देखिएको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अत्यन्त गम्भीर प्रश्न गरेका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई वार्ता समिति समेत गठन नगरी बस्नुको कारण केसीलाई कात्रो पठाउने तयारीका लागि हो भनि प्रश्न गरेका छन्।
कुनै बेला तत्कालिन माओवादी द्ध्वन्द्धका प्रमुख पुष्पकमल दाहाल र उनको हिंसात्मक विद्रोहको कटु आलोचना गर्ने गरेका ओलीलाई शर्माले भनेका छन्, ‘कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्नु हुन्थ्यो त्यो स्वभाविक थियो, अब अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ। खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि— लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्रको हुनुमा फरक हुन्छ?’
विगतमा कांग्रेसको नेतृत्वमा सरकार भएको समयमा पनि केसीले अनसन बसेको र त्यतिबेला तत्कालिन प्रधानमन्त्री सुशील कोइरालादेखि शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले उच्च स्तरीय कार्यदल बनाएर तथा अध्यादेश जारी गरेर भएपनि उनका माग समबोधन गरेको शर्माले उल्लेख गरेका छन्।
‘तर, यहाँले उसबेला पूरा गरिएका माग एकातर्फ उल्टाउनु भयो अर्कातर्फ नयाँ सन्दर्भमा अघि सारिएका मागबारे संवाद मार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार यहाँमा भएन। सत्याग्रहीलाई दुव्र्यवहारदेखि, सत्ताको अहंकारसम्मले कम्युनिष्ट तन्त्रको मनोबिज्ञानलाई मात्रै पुष्टि गरेका छन्,’ उनले विज्ञप्तिमा ओलीलाई भनेका छन्।
डा. के.सी.को स्वास्थ स्थिति जटिल बन्दै गएको बताउँदै प्रधानमन्त्री ओलीको वार्ता नगर्ने अडानलाई ‘बालुवाटारे बालहठ’को संज्ञा दिँदै यो उनलाई महंगो पर्ने चेतावनी पनि दिएका छन्।
‘वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू। हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’मा अन्ततः जित लोकतन्त्रकै हुनेछ। डा. के.सी. को जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्,’ उनले भनेका छन्।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय