निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीचको एकीकरणलाई बल्ल बैधानिकता दिएको छ।
गत वर्षको अन्तिममा कमल थापाको राप्रपा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनीको राप्रपा संयुक्तबीच सार्वजनिक रुपमा एकीकरण भएपनि विधानमा राखिएको व्यवस्थादेखि नेताहरुबीच झण्डा, चुनाव चिन्ह लगायतका विषयमा मतभेद भएपनि आयोगबाट उक्त एकीकरणले बैधानिकता पाउन सकेको थिएन।
पछिल्लो समय चुनाव चिन्ह हलो र झण्डामा गाई राख्ने सहमति कायम भएपछि आयोगमा पेश गरिएको कागजातको आधारमा आयोगले राप्रपाको एकीकरणले बैद्यता पाएको हो।
आयोगले एकीकरण प्रक्रियालाई वैधानिकता दिएकोमा अध्यक्ष कमल थापाले आफूलाई यसबाट गौरवको अनुभूति भएको बताएका छन्।
अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुशी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनः एकिकृत गर्न सकेकोमा खुशी ब्यक्त गर्दै गौरव लागेको बताएका हुन्।
एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनाव चिन्ह ‘हलो’ हुने भएको छ। अध्यक्ष थापाले आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प समेत गरेका छन्।
निर्वाचन आयोगलाई धन्यवाद दिदै थापाले सामाजिक सन्जालमा थप लेखेका छन्, ‘अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुनेछ। राप्रपाको चुनावचिन्ह जनतासम्म पुराउने प्रचार अभियान अन्तर्गत मेरो सामाजिक संजालको प्रोफाईलमा आजैदेखि ‘हलो’ अंकित गरेको छु। पार्टीका साथीहरूलाई पनि सो बमोजिम गर्न आग्रह गर्दछुू।’
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय