विज्ञान र प्रविधिको आधुनिक युगमा कुनै पनि संघ, संस्था अथवा पार्टीको आधिकारिक वेबसाइट खोल्नेवित्तिकै गृहपृष्ठमा सम्बन्धित संस्थाको न्यूनतम जानकारीका अतिरिक्त सम्बन्धित संस्थाको प्रमुख पदाधिकारीको छोटो, मिठो सन्देश राखिएको हुन्छ।
ताकी कुनै पनि व्यक्तिले उक्त संस्थाकोबारेमा जानकारी लिन वेबसाइट खोल्नासाथ उसले सुरुमै उक्त संस्थाको बारेमा संक्षिप्त जानकारीसँगै त्यसको कार्यकारी प्रमुखले संस्था र संस्थामा आबद्ध सदस्यहरुका निम्तिमात्र नभएर अन्य सरोकारवाला पक्षका लागि समेत उपयोगी सन्देश दिएर वेबसाइटको आकर्षण बढाएको हुन्छ।
तर, नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको आधिकारिक वेभसाइटमा न त संस्थाकाबारेमा कुनै जानकारी नै राखिएको छ, न त त्यसकाे वर्तमान कार्यकारी प्रमुख सभापति शेरबहादुर देउवाको सन्देश नै।
पछिल्लो समय पार्टीभित्र प्रखरवक्ताका रुपमा परिचित नेता विश्वप्रकाश शर्माले पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी लिएर पार्टीलाई प्रविधि मैत्री बनाउँदै ‘डिजिटल हाउस’भित्र समग्रमा समेट्ने उद्घोषसहित हालै सार्वजनिक गरेको नयाँ वेबसाइटमा पार्टीको सामान्य जानकारी समेत नअटेर ‘आउट’ नै भएको पो हो कि जस्तै देखिन्छ।
https://www.nepalicongress.org/
वेभसाइटमा देशकै पुरानो पार्टीको ऐतिहासिक पृष्ठभूमिसहितको जानकारी राख्नु पर्ने मेनूको ‘हाम्रा बारेमा’ शीर्षक खोल्ने कुनै पनि स्वदेशी अथवा विदेशी पाठकले नेपाली कांग्रेस, यसको स्थापना, यसको ऐतिहासिक पृष्ठभूमि र भावी कार्यदिशाबारे केही पनि जानकारी पाउँदैनन्।
भेटिन्छ त, केबल ‘राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि सात दशकदेखि निरन्तर समर्पित नेपाली कांग्रेस’ लेखिएको वाक्यांशसँगै प्रवक्ता शर्माले भन्दैआएको ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविश्य’ नारासँगै सूचना, सञ्चार तथा प्रचार विभागको नाम र विभागका सदस्य तथा वेबसाइट संयोजन समितिका संयोजकको नाम।
गृहपृष्ठको कभर फोटोमा शान्ति सम्झौता गर्दैगर्दाको फोटोदेखि संविधान सभाबाट संविधान जारी गर्नेक्रममा तत्कालिन राष्ट्रपति रामवरण यादवले संविधानको प्रति हातमा लिएर ढोग्दै गरेको तस्वीरसँगै तत्कालिन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले हात उठाएको स्लाइड फोटो फिचर राखिएको छ।
त्यसपछिको कोलममा पार्टीका संस्थापक नेताहरु, बीपी कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको फोटो राखिएको छ भने त्यसपछि प्रेस विज्ञप्तिको अंश राखिएको छ। जुन प्रेस विज्ञिप्तिको आर्काइभ पनि ०७७ भदौ महिनाभन्दा पछाडि पुगिँदैन।
जबकी छिमेकी मित्रराष्ट्र भारतका सत्तारुढ दल भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कांग्रेसको आधिकारिक वेबसाइटको पहिले पृष्ठमा नै क्रमशः पार्टी प्रमुख जेपी नाडा र नरेन्द्र मोदी तथा सोनिया गान्धीको सन्देशसहितको फोटो राखिएको मात्र छैन, त्यसपछिका पृष्ठहरुमा पनि उक्त पार्टीका संस्थापक नेताहरुसँगै पार्टीको सम्पूर्ण ऐतिहासिक जानकारी राखिएको छ।
बंगलादेशको सत्तारुढ दल अवामी लिगको वेबसाइटमा पनि यस्तैगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष वेगम खालिदा जियाको फोटो र संक्षिप्त सन्देश राखिएको छ।
नेपाली कांग्रेस जस्तै भारतको पुरानो ऐतिहासिक पृष्ठभूमि बोकेको भारतीय राष्ट्रिय कांग्रेसको वेबसाइटमा ‘कि इस्यू’ शीर्षकमा पार्टीले सत्तारुढ दल भाजपाले भन्ने गरेको ‘नेबरहुड फष्ट’को सट्टा ‘नेबरहुड लष्ट’ शीर्षकमा पार्टीको धारणा राखेको छ।
कांग्रेसको यति हल्लाखल्ला र तामझामका साथ तयार पारिएको वेबसाइटमा सभापति देउवाको फोटोसहितको सन्देश त के पार्टीको बारेमा समेत जानकारी नराखिएको बारेमा केन्द्रीय कार्यालयका कर्मचारी तथा प्राविधिकहरुलाई कुनै जानकारी नभएको बताउँछन्।
जब कि, यसअघिको वेबसाइटमा तत्कालिन सभापति सुशील कोइरालाको फोटोसहितको सन्देश ०७२ साल फागुनमा सम्पन्न १३औं अधिवेशनपछि नयाँ नेतृत्व आएसँगै हटेको थियो। जसमा त्यतिबेलाकाे कार्यसमितिका निर्णय र प्रेस विज्ञप्ति सबै चाहेकाे बेला हेर्न मिल्ने व्यवस्था गरिएकाे थियाे। जुन वेभसाइट नयाँ नेतृत्व फेरिएसँगै वेभसाइट पनि समय सापेक्ष नयाँ बनाएर सार्वजनिक गर्ने क्रममा अपडेट गर्ने भनिएपनि गरिएको थिएन।
सबडोमेन अन्तर्गत पार्टीका जिल्ला कार्यसमिति, प्रदेश सभा, भातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क समिति लगायतका सूचि राखिएको भएपनि त्यी मेनू खोल्दा कुनै जानकारी आउँदैन।
अनलाइन लाइब्रेरीमा पनि पार्टीको विषयमा यसअघि तयार पारिएका ऐतिहासिक दस्तावेज तथा पार्टीसँग सम्बन्धित विषयवस्तु भन्दा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको अटोबायोग्राफीदेखि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन आदि, इत्यादि राखिएको छ।
केन्द्रीय कार्यसमितिको जानकारीका लागि सभापति देउवा लगायतका पदाधिकारी तथा सदस्यहरुको फोटो समेत अहिलेको नराखी पुरानै राखिएको छ।
अंग्रेजी र नेपाली भाषामा वेबसाइट रहेको भनिएपनि नेपाली भाषामा नै पूर्ण नभएको वेबसाइटमा अंग्रेजीतर्फ अरु जानकारी हुने झन कुरै भएन।
यसरी एउटा सामान्य व्यक्तिको ब्लग जत्तिको पनि नेखिने वेबसाइट डिजाइनको विषयमा केन्द्रीय सदस्य एनपी साउदले यसबारे आफूलाई खासै जानकारी नभएको बताए। तर, वेबसाइटमा पार्टीकाे संक्षिप्त जानकारीदेखि सभापतिको सन्देश नभएको लगायतका विषयमा आफूले पार्टीमा कुरा उठाउने साउदले बताए।
प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय