नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष एवं समाजसेवी रामवावु प्रसाई (खनुपरुदेप्रकाहा)को निधनप्रति कांग्रेसले शोक प्रकट गर्दै २५ गते आइतबार केन्द्र र मातहतका कार्यालय बन्द गर्ने घोषणा गरेको छ।
प्रसाईको निधनप्रति शोक व्यक्त गर्नका लागि आइतबार पार्टी कार्यालय बन्द गर्ने निर्णयसँगै भोलिका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक पनि अनिश्चित भएको छ।
यसअघि पार्टीको महाधिवेशन कार्यतालिका लगायतका विषयमा असोज १९ गतेका लागि तय गरिएको बैठक पार्टीका कतिपय नेताहरुमा कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा पर्दा २५ गतेका लागि सरेको थियो। यसमा पनि बिहिबार गरिएको थप पिसिआर परिक्षणमा केही केन्द्रीय सदस्य तथा पार्टी कार्यालय सहयोगीलाई पनि कोरोना पुष्टि भएपनि भोलिको बैठक बस्ने सम्भावना कम भएको थियो।
पूर्व सभापति कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा केन्द्रीय कोषाध्यक्ष रहेका प्रसाईको शुक्रबार उपचारका क्रममा ओम अस्पतालमा ९९ वर्षको उमेरमा निधन भएपछि कांग्रेसले एक विज्ञप्ति जारी गर्दै देशभरीका कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ।
निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध संघर्षक्रममा स्वर्गीय प्रसाईले जेलनेल र भारतमा निर्वासित जीवन समेत व्यतित गरेका थिए।
पार्टी नेताहरुमध्ये अत्यन्त सालिन, मितव्ययी र सरल व्यक्तित्वका रुपमा परिचित प्रसाईले पछिल्लो समय पार्टीभित्र देखिएको सैद्धान्तिक विचलन र अनुशासनहिनताप्रति गम्भीर असहमति जनाउँदै पार्टीबाट अलग भएको घोषणा गरेका थिए।
प्रसाईले पार्टी र नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै अलग भएको घोषणा गरेपनि कांग्रेसले उनलाई आफूबाट अलग हुन नदिने रणनीति लिँदै शनिबारदेखि सोमबारसम्म तीन दिन पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने आइतबार केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने भएको छ। साथै १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय