बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा बाध्यतावस फिर्ता गरेर कानूनी फन्दाबाट बचेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णप्रसाद पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रीमा मनोनित गरेर राहत दिएका छन्।
सरकारी स्वामित्वमा रहेको ललिता निवासको ८ आना जग्गा ४ लाखमा खरिद गरेको भनिएका नेता पौडेलले उक्त जग्गाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अघि बढाएपछि उक्त जग्गा सरकारलाई फिर्ता गरेर ऐन र कानून भन्दा पनि अख्यितारबाट उम्किएका पौडेललाई बुधबार प्रधानमन्त्री ओलीले अर्थ मन्त्री बनाए।
तर, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विदेशी कम्पनीका नेपाली एजेन्टसँग ७० करोड रुपैयाँ कमिशनको डिल गरेको अडियो सार्वजनिक भएपछि संचार मन्त्रालयको जिम्मेवारी गुमाउन बाध्य भएका ओलीका अतिप्रिय पात्र ‘काभ्रेका प्रतिभा’ गोकुल बाँस्कोटालाई भने कुनै राहत दिन सकेनन्।
पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि सचिवालय बैठकमा भएको निर्णय र सहमति अनुसार, दुई अध्यक्षको सहमतिमा मन्त्रिपरिषद हेरफेर गर्ने भनिएपनि बुधबार ओलीले एकपक्षिय रुपमा पौडेललाई अर्थ मन्त्रीमा मनोनित गरेका थिए। तर, पुनः मन्त्रिमण्डलमा सामेल हुन सक्ने आशा र आशंका गरिएका बाँस्कोटाले भने मन्त्रिमण्डलमा स्थान पाउन सकेनन्।
बालुवाटारको सरकारी जग्गा अपत्यारिलो मूल्यमा नाबालक छोराको नाममा खरिद गरेका पौडेलले उक्त जग्गा सरकारलाई नै फिर्ता गर्ने भनेपछि अख्तियारले उनलाई छानविनको दायरा बाहिर राखेर आफ्नो संस्थाको कार्यप्रति नै प्रश्न उब्जाएको थियो भने बास्कोटाको विषयमा प्रधानमन्त्री ओलीले उनी दोषी नरहेको भन्दै बचाउ गरेका थिए।
ओलीले काठमाडौंका सांसद कृष्णगोपाल श्रेष्ठ र सर्लाहीका लिलानाथ श्रेष्ठलाई भने मन्त्री पदमा नियुक्त गरेका छन्।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय