हिमाल दैनिक
हुम्लामा चीनले नेपाली भूभाग अतिक्रमण नगरेको भन्ने सरकारी दाबीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्विकार गर्दै सरकारी ढाकछोप र मौनता कम्युनिष्ट सरकारको राष्ट्रघात भएको आरोप लगाएको छ। कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलको नेता तथा कांग्रेस कन्द्रीय सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले चीनले अतिक्रमण गरेको भनिएको हुम्लाको सीमा क्षेत्रको स्थलगत भ्रमण गरी तयार पारेको प्रतिवेदनका आधारमा पार्टी कार्यालयले यस्तो आरोप लगाएको हो। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा हुम्लामा ‘चीनले सिमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सिमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको आरोप लगाएका हुन्। ‘सिमा अतिक्रमण उत्तरी मित्रराष्ट्रबाट होस् या दक्षिणीबाट, हामीलाई दुवै अस्वीकार्य छ। हुम्लाको सिमामा चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको बिषय हो। झनै आपत्ति, आश्चर्य र निन्दनीय विषय त नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता साथको राष्ट्रघात छ,’ विज्ञप्तिमा भनिएको छ। [pdf-embedder url="https://www.himaldainik.com/wp-content/uploads/2020/10/Field-Report-1-converted.pdf" title="Field Report (1)-converted"] सदरमुकाम सिमिकोटबाट ५० कोषमा रहेको नाम्खाको लिमिमा चीनले नेपालको सिमाना मिचेको चर्चा देशको राजधानीमा आइपुग्दा सरकारले ‘सिमा मिचिएको छैन’ भनेर परराष्ट्र मार्फत धारणा सार्वजनिक गरेको थियो भने प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली कांग्रेसले ‘यस्तो प्रश्नमा हतारोमा टिप्पणी गर्नु गलत भन्दै स्थलगत अध्ययनको प्रतिवेदन पश्चात् टिप्पणी गर्नु सुझाव दिएको थियो। हुम्लास्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको नेतृत्वले असोज प्रथम सातामा स्थलगत अध्ययन गरेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि असोज १४ गते कर्णाली प्रदेश सभाका विपक्षी नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिवनबहादुर शाहीको नेतृत्वमा एक अध्ययन कार्यदल नाम्खा पुगेको बताइएको छ। चीनसंगको सिमामा पुगिर उक्त क्षेत्रमा रहेका पिलर नम्बर ५ देखि १२ सम्मको सिमाक्षेत्रमा टोलीले ११ दिन लगाएर गरेको अध्ययन प्रतिवेदन तयार पारेको थियो। उक्त प्रतिवेदनमा नाम्खाको लिमिमा चीन सरकारले करिब दुई किलोमीटर नेपाली भूमि अतिक्रमण गरेको निश्कर्ष निकालेको थियो। दुई किलोमीटर भूमि अतिक्रमण हुंदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छंदै ‘सिमा मिचिएको छैन’ परराष्ट्र मन्त्रालय बोल्नु, सो टोली सिमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु, त्यो अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुवै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक भएको पनि कांग्रेसले बताएको छ। साथै नेपाली कांग्रेस तत्काल धारणा सार्वजनिक गर्न नेपाल सरकार समक्ष माग गर्दै, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकार समक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनैतिक संवाद मार्फत हल खोज्ने प्रक्रिया अविलम्ब शुरु गर्न माग गरेको छ।  
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update