प्रधानमन्त्री केपी शर्र्मा ओलीले भन्दै आएको ‘संमृद्ध नेपाल, सुखी नेपाली’को नारा सार्थक बनाउन अर्थ नीतिमा धुरन्धर विद्वान युवराज खतिवडा असफल जस्तै भएपछि अमेरिका (युस)का लागि नेपाली राजदूत बनेर जाने तयारीमा छन्।
राष्ट्रिय सभामा मनोनित हुने झिनो आशामा सांसदको पदावधि सकिएपछि पनि ६ महिनासम्म अर्थमन्त्रीका रुपमा कार्यरत खतिवडालाई प्रधानमन्त्री ओलीले एकपछि अर्को सरकारी नियुक्ति नदिई नहुने मान्यता बनाएर अमेरिका पठाउँदैछन्।
तर, युवराजको बहिर्गमन पश्चात रिक्त रहेको अर्थ मन्त्रालयमा पार्टीभित्र कुनै सल्लाहबिना नै महासचिव विष्णु पौडेललाई नियुक्ति दिए लगत्तै बिहिबार पौडेलले पद तथा गोपनियताको सपथ लिए।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्री पदको सपथ लिए लगत्तै पिएचडी धारी युवराजको सट्टा युएस अर्थात ‘अण्डर एसएलसी’ धारी पौडेल संमृद्ध नेपाल, सुखी नेपालीको नारा सफल बनाउन अर्थ मन्त्रीको पदभार ग्रहण गरेका छन्।
बहुचर्चित र विवादस्पद बालुवाटारको ललिता निवासको सरकारी जग्गालाई जग्गा दलालहरुको मार्फत आफ्नो नाबालक छोराको नाममा ८ आना लिएका पौडेलले गत वर्ष नै अख्तियारले अरुलाई सोही जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा संलग्न भएको आरोपमा मुद्दा दायर हुनु अगावै आफ्नो जग्गाको हक दाबी छोडेको भन्ने नाममा उन्मुक्ति पाएका थिए।
नवनियुक्त मन्त्री पौडेलले यसअघि २०७२ को संविधान जारी भएलगत्तै गठन भएको प्रधानमन्त्री ओली नेतृत्वको सरकारका पालामा पनि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेर वार्षिक बजेट समेत पेश गरिसकेका छन्।
तत्कालिन सरकारको तर्फबाट राष्ट्रिय चुनावलाई लक्षित गर्दै पेश गरेको बजेट संसदमा प्रस्तुत हुनु अगावै बाहिर केही सरोकारवालाहरुलाई कर प्रस्तावबारे जानकारी दिएको आरोप संसदमा लागेपछि त्यसबारे सदनमा ठूलो विवाद भएको थियो।
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय