हिमाल दैनिक
भारतीय गुप्तचर प्रमुख गोयल अचानक काठमाडौंमा, राष्ट्रिय स्वाधिनता र सुरक्षा नीतिमा गम्भीर प्रश्न
Head_of_RAW
भारतले वर्षौँदेखि अतिक्रमण गर्दै आएको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभागलाई नेपालले संविधान संशोधन गरी आफ्नो नक्सा सार्वजनिक गरेपछि चिस्सिएको नेपाल–भारत सम्बन्धमा सुधार ल्याउन भारतले पहल थालेको छ। दुई देशबीचको सीमा विवादको विषयमा पटक पटक नेपालले भारतसँग वार्ताको प्रयास गरिरहँदा पनि भारतले वेवास्ता गरेको भनि सरकारी तहबाटै जानकारी बाहिर आइरहेकै बेला एकाएक भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख बुधबार भारतीय एयरफोर्सको विमानबाट नेपाल आइपुगे। त्यो पनि त्रिभुवन विमानस्थल र नागरिक उड्डयन प्राधिकरणका अधिकारी कसैको जानकारी विनै अचानक बुधबार अपरान्ह नेपाल आएर कुनै सुरक्षा चेकजाँच विना नै विमानस्थलबाट बाहिरिएको समाचार स्रोतले बताएका छन्। राष्ट्रवादको नारा दिएर जनताबाट अत्याधिक बहुमतले सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आफैँमा आन्तरिक कलह र विवादले समस्यामा परिरहेकै बेला भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसहित ९ जनाको टोली नेपाल आउँदा विमानस्थलमा भएको फितलो उपस्थितिले सरकारको राष्ट्रवादी नाराले हावा खाएको छ। बुधबार नेपाल आइपुगेका गोयलले साझैँ प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटवार्ता गरेको बताइएको छ। उक्त भेटवार्ताका क्रममा भारतले अतिक्रमण गरेको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा विवादको विषयमा चर्चा भए वा नभएको केही जानकारी बाहिर आएको छैन। नेपाली भूभाग अतिक्रमणको विषयमा विवादस्पद अभिव्यक्ति दिएर चर्चामा आएका भारतीय सेनाध्यक्ष मणिमुकुन्द नरवणे नेपालको औपचारिक भ्रमणमा आउनु १२ दिनअघि रअका प्रमुखसहितको टोलीको आगमनलाई सेनाध्यक्षको भ्रमणको पूर्वतयारीका रुपमा भएको हुनसक्ने कुटनीतिक विश्लेषकहरुको बुझाई छ। सरकारका आधिकारिक निकायलाई कुनै पूर्वजानकारी नदिई एकैचोटी काठमाडौं आएका रअ प्रमुखसहितको टोलीले सत्तारुढ दल नेकपाका नेता माधवकुमार नेपाल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापालाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ। केही दिनअघि मात्रै मन्त्रिपरिषद हेरफेरका क्रममा रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर मन्त्रिपरिषद कार्यालयको मात्रै जिम्मा पाएका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भने भेटको समय नभएको बताएको छ। यसरी पोखरेलको रक्षा मन्त्रालयबाट बहिर्गमन पश्चात भएको रअ प्रमुखको भ्रमणमा सबै अधिकार प्राप्त उपप्रधानमन्त्री पोखरेललाई नभेट्ने तर अर्थमन्त्री पौडेल र गृहमन्त्री थापालाई भेट्ने कुराले सरकार र नेकपाभित्र भारतसँगको सम्बन्धमा विशेष अर्थ राख्नेछ। तर, अर्का नेता पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ताबारे केही टुंगो लागिनसकेको स्रोतले बतायो। कतिपयले पूर्व राजा ज्ञानेन्द्र शाहसँग पनि भेट्न सक्ने आशंका गरिरहेपनि यसपटक उनले भेट्ने सम्भावना कम रहेको स्रोतको दाबी छ। समाचार स्रोतका अनुसार गोयलसहितको टोली आजै बिहानसम्ममा आफ्नो कार्यतालिका र लक्ष्यअनुसारको भेटवार्ता गरी भारत फर्किने कार्यक्रम रहेको बताएको छ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update