कुटनीतिक मर्यादा र स्थापित मान्यतालाई लत्याउँदै भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस् विङ (रअ)का प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा आलीले सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेका छन्।
न कुनै पूर्वजानकारी न कुनै विशेष सन्देश अचानक बुधबार अपरान्ह काठमाडौं आइपुगेका भारतीय गुप्तचर एजेन्सीका प्रमुख सामन्तकुमार गोयलसहितको भारतीय टोलीलाई बधबार साँझ प्रधानमन्त्री ओलीले भेटवार्ता गरेको जानकारी प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएका छन्।
थापाले बिहीबार प्रेस नोट जारी गर्दै रअ प्रमुख गोयलले ओलीसँग शिष्टाचार भेट गरेको बताएका हुन्।
‘उहाँ भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनु भएको थियो। भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरुको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अघि बढाउने विषयमा आफ्नो धारणा राख्नु भयो,’ थापाले भनेका छन्।
पछिल्लो समय नेपाल र भारतबीच सीमा विवादका कारण चिसिएको सम्बन्धमा कुटनीतिक पहलमार्फत समस्या समाधान गर्न उदासिन रहेको भनिएको भारतका गुप्तचर प्रमुख गोयलको नेपाल भ्रमणको उद्देश्य र सन्देशबारे केही उल्लेख गरिएको छैन।
बरु सत्तारुढ दलभित्रको आन्तरिक कलह र विवादका कारण पार्टी र सरकारमा संकटको सामना गरिरहेका प्रधानमन्त्री ओलीले आफ्नो सत्तारक्षाका लागि कबजका रुपमा भारतीय गुप्तचर प्रमुखलाई आमन्त्रण गरेर असन्तुष्ट पक्षलाई थन्को लगाउन चालिएको कदमका रुपमा पनि कतिपय सत्ता र प्रतिपक्षी दलका नेताहरुको बुझाइ छ।
यसले राष्ट्रवादी नारा लगाएर नथाक्ने सरकार र यसको नेतृत्वको दाबीलाई खोक्रो राष्ट्रवादी नारा सावित भएको पनि कतिपय कुटनीतिक जानकारहरुले बताएका छन्।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय