अचानक नेपाल आइपुगेका भारतीय गुप्तचर एजेन्सी (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भेटवार्ताले देशको राजनीतिकसँगै कुटनीतिक क्षेत्रमा नयाँ बहसको तरंग उत्पन्न गरेको छ।
नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि अतिक्रमण गरेको विषयमा नेपालले पटक पटक कुटनीतिक वार्ताको माध्यमबाट समस्या समाधान गर्न गर्दै आएको आग्रहलाई वेवास्ता गर्दै आएको भारतले गुप्तचर प्रमुख गोयललाई नेपाल पठाएर सोझै प्रधानमन्त्री ओलीसँग बुधबार साँझ गराएको गोप्य वार्ताले ओली र उनको सरकार चौतर्फी आलोचनाको केन्द्रमा परेको छ।
गत वैशाखमा आफूलाई भारतीय सरकारको योजनामा सत्ताबाट हटाउन खोजिएको सार्वजनिक अभिव्यक्ति दिएका ओलीले अचानक गलत समय, अवस्था र प्रक्रियाबाट गुप्तचर प्रमुखसँग गरेको भेटले ओलीको यसअघिका अभिव्यक्तिलाई समेत शंकाको घेरामा पारेको छ।
बुधबार साँझ झण्डै तीन घण्टासम्म भेटवार्ता भएको भन्ने समाचार सार्वजनिक भएलगत्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेता भीमबहादुर रावलले कडा आलोचना गरेका छन्।
बिहिबार आफ्नो ट्वीटरमार्फत रावलले प्रधानमन्त्री ओलीको गोयलसँग भएको भेटवार्ता संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमानसँगै कुटनीतिक मर्यादा विपरित भएको बताएका छन्।
https://twitter.com/BhimRawal179/status/1319193837156192257
‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति, घोषणाको विपरित भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ। कुटनीतिक मर्यादा विपरित छ,’ रावलले भनेका छन्।
रअ प्रमुखसँग भेटवार्ता गरेको जानकारी प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिइसकेका छन्।
यसरी भएको भेटवार्ताबारे पूर्वराजदुत दिनेश भट्टराईले पनि गुप्तचर प्रमुखसँग सरकार प्रमुखले भेटवार्ता गर्नु स्वाभाविक नभएको बताएका छन्।
कुनै पनि देशको एउटा गुप्तचर एजेन्सीको प्रमुखले हाम्रो देशको गुप्तचर प्रमुखसँग भेटवार्ता गर्नु स्वभाविक भएपनि सोझै प्रधानमन्त्रीलाई यसरी भेट्नु कुटनीतिक मर्यादा, स्थापित मान्यता र अभ्यास विपरित भएको उनले बताए।
जतिबेला सीमा विवादबारे कुटनीतिक माध्यमबाट समस्या समाधान गरौँ भन्दा भारतीय सरकारले वेवास्ता गरिरहेको छ त्यहि बेला भारतीय गुप्तचर संस्थाको प्रमुख यसरी अचानक आएर प्रधानमन्त्रीसँग गरेको भेटवार्ताबारे भट्टराईले आश्चर्य प्रकट गरे।
उनले भने, ‘न उनी भारतीय प्रधानमन्त्रीका विशेष दूत अथवा विदेश मन्त्रीका प्रतिनिधि हुन् न त उनले भारतीय सरकारको सन्देश नै लिएर आएका हुन। एउटा गुप्तचर संस्थाको प्रमुखले कार्यकारी प्रमुखलाई सोझै गएर भेटवार्ता गर्ने कार्यले नेपालको सत्तालाई भारतीय गुप्तचरले चलाएको त होइन भन्ने प्रश्न खडा गरेको छ।’
संविधान सभाबाट नयाँ संविधान जारी गरेपछि नेपाल र भारतबीच उत्पन्न असहजताकाबीच राष्ट्रवादको नारा लगाएर सत्तामा पुगेको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको नक्कली अथवा उग्रराष्ट्रवाद (जिंगोइज्म) उदांगिएको पनि उनले बताए।
गोयलको यो भ्रमणको समय, परिस्थिति, शैलीले देशको कुटनीतिक संयन्त्रलाई पाखा लगाएको पनि उनले बताए।
साथै यसले नेपाल र भारतकाबीच राजनीतिक अथवा कुटनीतिक सम्बन्ध भन्दा पनि गुप्तचरको सम्बन्ध माथि छ कि भन्ने सन्देश बाहिर गएको बताउँदै यो सार्वभौमसत्ता सम्पन्न मुलुकको निम्ति चिन्ताको विषय भएको बताए।
‘जुन बैठकमा न त कुनै कुटनीतिक मर्यादा अथवा पदिय मर्यादको ख्याल गरियो न हाम्रो परराष्ट्र मन्त्रालयका प्रतिनिधिलाई नै सहभागी गराइयो। यसरी घण्टौंसम्म दुई जनाबीच भएको भेटवार्तामा देशकारे राष्ट्रिय सुरक्षा नीतिदेखि कुटनीतिक सम्बन्ध र सीमा विवादबारे कुन कुन विषयमा के कस्तो वार्ता र प्रतिबद्धता भयो? यसको संस्थागत रकेर्ड छ कि छैन?’ भन्दै भट्टराइले यसबारे प्रधानमन्त्री ओलीले जवाफ दिनु पर्ने बताए।
यदि प्रधानमन्त्री ओलीसँग रअ प्रमुखसँग भएको भेटवार्ताबारे कुनै जवाफ राजनीतिक दलका नेता तथा जनताले नमाग्ने अथवा उनले जवाफ नदिने हो भने नेपालको सत्तालाई विगतदेखि भनिदै आएजस्तै गुप्तचर संस्थाले चलाउँदै आएको प्रमाणित हुने दाबी उनले गरे।
यस सम्बन्धी थप समाचार:
देउवा, दाहाल र नेपालद्वारा गुप्तचर प्रमुख गोयलसँग कुनै भेटवार्ता नभएको स्पष्टोक्ति | |
प्रम ओलीद्वारा रअ प्रमुख गोयलसँग गोप्य भेटवार्ता गरेको सगौरव स्वीकारोक्ति | |
भारतीय गुप्तचर प्रमुख गोयल अचानक काठमाडौंमा, राष्ट्रिय स्वाधिनता र सुरक्षा नीतिमा गम्भीर प्रश्न |
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय