हिमाल दैनिक
प्रधानमन्त्रीज्यू, रअ प्रमुखसँगको भेटवार्ताबारे देश र जनतालाई प्रष्ट्याउनुहोस्ः निधि
nidhi
भारतीय गुप्तचर संस्था (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राती गरेको रहस्यमय भेटवार्ताबारे देश र जनताले स्पष्ट जानकारी पाउनु पर्ने माग नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले गरेका छन्। बुधबार अचानक इण्डियन एयरफोर्सको विशेष विमानमार्फत काठमाडौं आइपुगेका रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीलाई सोही राती बालुवाटारमा गरेको भेटवार्ताबारे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बिहिबार प्रेस नोटमार्फत जानकारी दिएका थिए। भेटवार्ताको विषयवस्तुबारे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दा शुक्रबार मौन रहेपछि उपसभापति निधिले गम्भीर राजनीतिक तथा कुटनीतिक प्रश्न उठाउँदै त्यसको जवाफ माग गरेका हुन्। बडादशैंको उपलक्ष्यमा देशवासीका नाममा शुक्रबार सम्बोधन गरेका प्रधानमन्त्री ओलीले गोयलसँगको भेटवार्ताबारे कुनै चर्चा नगरेपछि हिमाल दैनिकसँग कुरा गर्दै निधिले सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गरे। बुँदागत रुपमा प्रश्न उठाउँदै निधिले भने, ‘पहिलो कुरा त, कुनै पनि देशको प्रधानमन्त्रीले अर्को देशको गुप्तचर संस्थाको प्रमुखसँग यसरी भेट गर्नु कुटनीतिक मर्यादासँगै राजनीतिक मर्यादाको विपरित कार्य हुन्छ।’ दोस्रो कुरा, प्रधानमन्त्रीको प्रेस सल्लाहकारले नै भेटघाट भएको पुष्टि गरेको अवस्थामा गुप्तचार संस्थाको प्रमुखसँग प्रधानमन्त्रीको भेटघाट कसको अग्रसरता (नेपाल सरकारको अग्रसरतामा हो कि भारतको अग्रसरता)मा भएको भन्दै निधिले उक्त भेटवार्तामा के कुरा भयो भनि प्रश्न गरेका छन्। ‘अर्को प्रश्न, राजनीतिक तहमा अथवा दुई देशका सरकारका समकक्षीको तहमा कुरा नमिलेर यो भेटवार्ता भएको हो कि? अथवा त्यो बाटो बन्द भएपछि गुप्तचरको तहमा पुगेको हो? अथवा त्यो बाटो खोल्नका लागि भएको हो? कुन प्रयोजनका लागि भएको हो?,’ भनि निधिले प्रश्नको ओइरो लगाए। यी सबै विषयको जानकारी देश र जनताले पाउँनै पर्ने बताउँदै प्रतिपक्षी दलको नेतादेखि संसदभित्रका सबै दल र आम जनताले यसको जानकारी पाउनु पर्ने बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष दूत भनरे पठाएको भए बेग्लै विषय हुने बताउँदै गुप्तचर प्रमुख विशेष दूतका रुपमा नआएको बताए। कुनै पनि देशको सरकारले आफ्नो कुनै मन्त्री, व्यक्ति वा नागरिक कसैलाई पनि विशेष दूत बनाएर पठाउन सक्ने स्थापित प्रचलन रहेको बताउँदै निधिले भने, ‘यदि रअ प्रमुख विशेष दूत भएर आएका हुन् भने पनि त्यसको जानकारी चाहियो। त्यो पनि होइन। विशेष दूत भएर आएको भए त सार्वजनिक भइसक्थ्यो नि।’ प्रधानमन्त्री ओलीको निमन्त्रणमा आएका हुन् कि गुप्तचर प्रमुख आफैले अग्रसरता लिएर भेट्न आएको हो भन्नेबारे प्रधानमन्त्रीले देश र जनतालाई बताउनै पर्नेमा उनले जोड दिए। संसद चलेको अवस्थामा यस्ता गम्भीर विषयमा प्रधानमन्त्रीले सदनमार्फत र सदन नचलेको अवस्थामा देशवासीका नाममा गरिने सम्बोधन अथवा मिडिया मार्फत जानकारी गराउने चलन भएपनि आज प्रधानमन्त्री ओलीको सम्बोधनमा यसबारे कहीँ कतै उल्लेख नभएको बताए। ‘यस्तो अवस्थामा यो भेटवार्ताको रहस्य के हो र के कुरा भएको थियो यसबारे सबै कुरा देश र जनतालाई प्रधानमन्त्रीले जानकारी दिनै पर्छ,’ उनले दोहोर्याए। नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभागको विषयलाई लिएर नेपाल र भारतबीच पछिल्लो समय कुटनीतिक सम्बन्धमा दरार पैदा भएको छ।

यस सम्बन्धी थप समाचार:

रअ प्रमुख गोयलसंगै लिम्पियाधुराको चुच्चो पनि गयो!
नेपाल–भारत सम्बन्ध कुटनीतिक-राजनीतिक आधारमा चल्छ कि गुप्तचरको निर्देशनमा?
देउवा, दाहाल र नेपालद्वारा गुप्तचर प्रमुख गोयलसँग कुनै भेटवार्ता नभएको स्पष्टोक्ति
प्रम ओलीद्वारा रअ प्रमुख गोयलसँग गोप्य भेटवार्ता गरेको सगौरव स्वीकारोक्ति
भारतीय गुप्तचर प्रमुख गोयल अचानक काठमाडौंमा, राष्ट्रिय स्वाधिनता र सुरक्षा नीतिमा गम्भीर प्रश्न
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update