भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेको भ्रमण परम्पराको निरन्तरता भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भ्रमण मुख्यरुपमा परम्पराको निरन्तरता नै भएको र यसले दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढीकरण गर्ने बताए ।
भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि नेपाल भ्रमणमा आउँदै छन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनि नेपालको तीन दिवसीय भ्रमणमा आउन लागेका हुन् । नेपाल भ्रमणको पहिलो दिन कुनै औपचारिक कार्यक्रम नभए पनि दोस्रो दिन उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् ।
त्यसलगतै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । सोही दिन प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग औपचारिक भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको प्रवक्ता पौडेलले बताए ।
भ्रमणका क्रममा जनरल नरवणेलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने उनले जानकारी दिए ।
नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएको छ । भ्रमणको तेस्रो दिन उहा शिवपुरीस्थित आर्मी कमाण्ड एन्ड स्टाफ कलेजमा आयोजना हुने शिक्षार्थीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको सेनाले जनाएको छ । नेपालको तीन दिवसीय भ्रमण पूरा गरी जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कने तय भएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय