विगत एक वर्षयता हरेक पटक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किँदै गएको बेला राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियाता बढेको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र द्वितीय अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुबीच पार्टी र सत्ता सञ्चालनको विषयमा भएको तिब्र मतभेदले विगतमा तत्कालिन नेकपा एमाले र माओवादीबीच भएको एकता गम्भीर संकटमा परेको भन्दै नेताहरुले नै चिन्ता व्यक्त गरिरहेकै बेला अचानक राष्ट्रपति भण्डारीको सक्रियता बढेको हो।
ओली र दाहालबीचको जुहारीमा पछिल्लो समय रमिते बनेर बसिरहेका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति भण्डारीले मंगलबार शीतल निवासमा बोलाएर पार्टी एकताको पक्षमा भूमिका निर्वाह गर्न आग्रह गरेको समाचार प्रकाशित भएको छ।
विगतमा पनि विवादको अन्तिम क्षणमा ओलीको पक्षमा उभिँदै सरकार र पार्टीमा ओलीको पकड बलियो बनाउन भूमिका निर्वाह गर्दै आएका गौतमलाई संविधानको संरक्षक तथा राष्ट्र प्रमुख भण्डारीले पुनः पार्टी एकताको पक्षमा उभिन मात्र होइन, घुमाउरो पाराले ओलीको पक्षमा उभिन दबाब दिएकी हुन्।
यसरी राष्ट्र प्रमुखले कुनै दल विशेषको विवाद वा आन्तरिक मामिलामा चासो राख्दै सक्रिय भूमिका निर्वाह गरेपछि कतिपय राजनीतिक विश्लेषक तथा सर्वसाधारणले राष्ट्रपति भण्डारी नेपालको राष्ट्रपति कि पूर्व एमाले उपाध्यक्ष भनि प्रतिक्रिया दिइरहेका छन्।
विगत एक वर्षयता पटक पटक नेकपाभित्र नेतृत्वबीच विवाद चर्किँदा विवाद समाधानका लागि नेताहरुको घरघरमा धाएर समस्या समाधानमा क्रियाशील भएपछि विवादमा पर्दैआएकी नेपालका लागि चिनियाँ राजदूत हु याङछी यसपटक भने आश्चर्यजनक रुपमा मौन बसिरहेकीछिन्।
राजदूत हुको मौनता र निश्कृयतालाई कतिपयले हालै भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गरेको गोप्य भेटवार्ताको घटनाप्रतिको असन्तुष्टिका रुपमा व्याख्या गर्न थालेका छन्।
चिनियाँ राजदूतले निभाउँदै आएको भूमिकामा पछिल्लो समय देखिएको रिक्ततालाई राष्ट्रपति भण्डारीले पूर्णता दिने कदम चालेर आफ्नो पद र मर्यादालाई विवादमा पारेको प्रतिक्रिया कतिपय राजनीतिक विश्लेषकले गरेका छन्।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय