हिमाल दैनिक
नेपाली कांग्रेसको असन्तुष्ट पक्षले उठाएका विषयमा छलफल र सहमतिको प्रयासले समय लिएपछि अन्ततः शुक्रबारका लागि डाकिएको केन्द्रीय कार्यसमिति बैठक तीन दिन पर सरेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको वर्तमान तथा पूर्व पदाधिकारीका अतिरिक्त गुटगत आधारमा बोलाइएको केन्द्रीय सदस्यहरुको बैठकमा असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेलसहित २७ सदस्यले उठाएका विषयबारे टुंगो नलागेपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले कार्तिक २१ गतेका लागि तय गरिएको बैठक २४ गतेसम्मका लागि स्थगित भएको सूचना जारी गरेका थिए। कोरोना भाइरसको संक्रमण र सरकारले जारी गरेको निशेधाज्ञाका कारण पार्टीले तय गरेको १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि आगामी फागुन पहिलो साता गर्ने भनिएको पार्टी महाधिवेशन नहुने पक्का भएको छ। पूर्व निर्धारितक महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नका लागि डाकिएको केन्द्रीय समिति बैठकमा उपस्थित हुनुपूर्व आफूहरुले अघि सारेका १६ बुँदे माग सम्बोधन गर्न सभापति देउवा र निर्वाचन समितिमा ध्यानाकर्षण पत्र बुझाएपछि पार्टीको बैठक प्रभावित हुँदै आएको छ। सभापति देउवाले असन्तुष्ट पक्षले उठाएका मागबारे छलफलका लागि आज बोलाएको बैठकमा प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक लगायतले आफ्नो विचार राखेपनि छलफल र सहमतिको विन्दु फेला नपरेपछि पदाधिकारीको छलफल शुक्रबार अपरान्ह पुनः देउवा निवासमै बस्नेगरी स्थगित भएको हो। बैठकमा सहभागी नेता एनपी साउदका अनुसार, असन्तुष्ट पक्षका मुद्दामाथि भोलि बुँदागत रुपमा छलफल र सहमति कायम गरी सकेसम्म भोलि नै नभए पर्सिसम्ममा विवाद समाधान गरी पार्टीको केन्द्रीय कार्यसमिति बैठक २४ गते बस्नेछ। ‘पदाधिकारीसहितको बैठकमा नेताहरुबीच सहमतिको आधारमै अघि बढ्नेबारे विचार आएकोले सहमतिकै आधारमा पार्टी महाधिवेशनको कार्यतालिका लगायत समसामयिक राजनीिितक विषयमा २४ गतेको केन्द्रीय कार्यसमितिमा छलफल र निर्णय हुन्छ,’ साउदले भने। आजको बैठकमा नेताहरुले महाधिवेशन गराउने विषयमा आफूमाथि असन्तुष्ट पक्षले लगाएको आरोपको प्रतिवाद गर्दै सभापति देउवाले पार्टीका विभाग गठनको विषयबाहेक महाधिवेशनको कार्यतालिका लगायत सबै विषयमा सहमतिका आधारमा निर्णय गरी अघि बढ्न तयार रहेको दोहोर्याएका थिए। यसअघि १७ गते बसेको पदाधिकारी बैठकमा पनि सभापति देउवाले अत्यन्त विनम्रताकासाथ अरु सबै विषयमा आफू सहमति गरेर अघि जान तयार रहेको तर, विभाग गठनको विषयमा कुनै विवाद नगरिदिन आग्रह गरेका थिए।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update