नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माणका लागि शिल्यानाश गरिएको छ । बिहीबार काठमाडौंबाट शहरी बिकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र नयाँ दिल्लीबाट भारत सरकारका बाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले भर्चुअल माध्यमबाट एकीकृत जाँच चौकी नेपालगन्जको शिल्यानास गरेका हुन् ।
उक्त जाँच चौकी भारत सरकारको आर्थिक अनुदानमा निर्माण हुन लागेको हो । आइसीपीका लागि नेपाल सरकारले भारतको रुपैडिया नाकासँग जोडिएको साढे ९० बिघा जग्गा अधिग्रहण गरी तारवार गर्नुका साथै सुरक्षा पोष्ट समेत स्थापना गरिसकेको छ ।
भारत सरकारको सहयोगमा २ अर्ब ३५ करोड रुपैयाँ लागतमा आइसीपी निर्माण हुनेछ । निर्माण २ वर्षमा पुरा गर्ने लक्ष्य राखिएको छ ।
एकीकृत भन्सार जाँच चौकी निर्माण भएपछि मालवाहक सवारीसाधन जाँचपासमा सहज हुनुका साथै क्वारेन्टाइन, अध्यागमन, खाद्य प्रविधि लगायतका काम छिटो र व्यवस्थित हुने मन्त्री श्रेष्ठले बताए।
एकीकृत भन्सार जाँच चौकी परिसरमा भन्सार कार्यालयका साथै पशु क्वारेन्टाइन, अध्यागमन, बैंक, खाद्य प्रविधि, प्लान्ट क्वारेन्टाइन लगायत कार्यालयका साथै एक हजारभन्दा बढी मालबाहक ट्रक पार्किङ गर्ने याडसमेत निर्माण हुनेछन् ।
आइसीपी निर्माणमा ढिलाइ हुँदा अहिले सडकको दुबै किनारामा मालबाहक गाडी राखेर भन्सार जाँच पास हुँदै आएको छ । भारतले नेपालगन्जसंग सीमा जोडिएको रुपैडियामा २०७५ पुस ३० गतेदेखि नै भन्सार जाँच चौकी निर्माण गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय