हिमाल दैनिक
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका पुत्र एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी कांग्रेसमा प्रवेश गरेका सुनिलबहादुर थापासहित १० जनालाई नेपाली कांग्रेसले विधिवत् रातो कार्पेट ओच्छ्याएर पार्टीको केन्द्रीय कार्यसमितिमा भित्र्याइएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सुनिलबहादुर थापालाई पार्टीको सहमहामन्त्री पदमा मनोनयन गरेको हो। त्यसैगरी थापाको सिफारिसमा ६ जना उनका सहयोगीलाई केन्द्रीय सदस्य तथा थप तीन जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पूर्व पञ्चहरुको बाहुल्यतामा संचालित राप्रपाका नेताहरुबीच बेलाबखतमा उत्पन्न व्यक्तिगत टकरावका कारण तीन चिरामा रहेको राप्रपा नेतृत्वबीच गत वर्षको अन्तिम समयमा पार्टी एकीकरण भएको थियो। नेताहरुबीच पार्टी एकीकरण हुँदा एकीकृत राप्रपामा खासै भाउ नपाएपछि थापा पार्टी नेताहरुसँग रुष्ट बनेका थिए। त्यसपछि थापाले गत श्रावण १३ गते कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा आफूसहित केही समर्थकलाई साथ लिएर कांग्रेस प्रवेश गरेको घोषणा गरेका थिए। कांग्रेसमा प्रवेश गर्दा कुनै पार्टी विशेषको नेताको हैसियतमा प्रवेश नगरेको भएपनि आज बसेको केन्द्रीय कार्यसमितिले थापालाई पूर्वसहमति बमोजिम सहमहामन्त्री पदमा मनोनित गर्ने भन्दा पनि पार्टी समायोजनको आवरणमा सहमहामन्त्री पदमा समायोजन गरेको बताइएको छ। कांग्रेसमा प्रवेश गर्ने क्रममा ‘दूधको गिलासमा चिनी घुलेर स्वादिलो भएजस्तै’ आफू पार्टीभित्र कसैको भाग खोस्न नआएको तर, मिलेर काम गर्न आएको बताएका थापाका निम्ति अहिले कांग्रेसले पार्टी विधानको धारा ४ को (१०) (ङ) बमोजिम केन्द्रीय कार्यसमितिमा समायोजन आवरणमा कतै दूधमा चिनी घोल्ने भन्दा पनि चिनीमा दूध मोल्ने काम त गरिरहेको छैन भन्ने आशंका उब्जिएको छ। यसरी समायोजनको आवरणमा केन्द्रीय सदस्य हुनेहरुमा रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), वावुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), टि.एन. योगी (ललितपुर) गरी ६ जना लाई केन्द्रीय सदस्यमा तथा दिलिप राई (झापा), आशाराम चौधरी (कैलाली), राजेशबहादुर सिंह (कपिलवस्तु) गरी तीन जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको छ। कांग्रेस जस्तो देशकै पुरानो ऐतिहासिक पृष्ठभूमि भएको पार्टी र देशको लोकतान्त्रिक आन्दोलनमा लामो संघर्षमय राजनीतिक जीवनयात्रामा खारिएका अनगिन्ती नेताहरुले पार्टीभित्र खासै स्थान र सम्मान पाउन नसकिरहेकाबेला पार्टीको विभाग अथवा जिल्ला तहको सदस्य हुने हैसियत समेत नभएका व्यक्तिहरुलाई पार्टीको केन्द्रीय कार्यसमितिमा स्थान दिइएकोमा कतिपय पुराना नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update