नेपाली कांग्रेसले प्रतिनिधि सभामा हालै रिक्त भएको सदस्य पदमा पूर्व सांसद मोहनप्रसाद पाण्डेलाई सिफारिस गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (१) बमोजिम रिक्त सदस्य पदमा पाण्डेको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
समानुपातिक निर्वाचन प्रणाली तर्फबाट प्रतिनिधि सभामा सदस्य पदमा निर्वाचित भएका पूर्व सांसद सूर्यबहादुर केसीको हालै निधन भएपछि उक्त पद रिक्त हुन पुगेको थियो।
केसीको निधन पश्चात रिक्त स्थानमा विद्यमान ऐन र नियमावलीका आधारमा निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिकको बन्द सूचीमा खस आर्य समूहतर्फ माथिल्लो क्रममा रहेको पाण्डेलाई मनोनयन गर्ने निर्णय कार्यान्वयनका लागि पार्टीले निर्वाचन आयोगमा पत्राचार गर्ने निर्णय पनि गरेको छ।
यसअघि २०७४ सालमा सम्पन्न निर्वाचन लगत्तै कांग्रेसले पाण्डेको नाम पनि निर्वाचित सदस्यहरुको सूचीमा राखेर निर्वाचन आयोगमा पठाएको थियो।
तर, आयोगले ऐनको व्यवस्था अनुसार, पाँच जना खस, आर्य तर्फबाट निर्वाचित पुरुषपछिको क्रममा पिछडिएको क्षेत्रको तर्फबाट एक महिला र एक पुरुष अनिवार्य हुनुपर्ने भन्दै पाण्डेको नाम सूचीबाट हटाएर सूचीमै रहेका उम्मेदवार अछामका रामबहादुर विष्टलाई निर्वाचित भएको घोषणा गरेको थियो।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय