नेपाली कांग्रेसका नेताहरुबीच सहमतिका निम्ति भएको प्रयासले सार्थकता नपाउँदा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका अन्यौलपूर्ण अवस्थामा रहेको छ।
विगत केही महिनादेखि विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित हुँदा फागुन ७ गतेदेखि हुने भनिएको १४औं महाधिवेशनको कार्यतालिका प्रभावित हुने स्थिति उत्पन्न भएको थियो।
पार्टीको तल्लो तहदेखि विधान बमोजिम गरिनु पर्ने समायोजनको प्रक्रियादेखि क्रियाशील सदस्यता नविकरण तथा वितरण लगायतका विषय प्रभावित भएपछि सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला लगायतका नेताहरुले महाधिवेशनको नयाँ कार्यतालिका बनाएर अघि बढ्नु पर्ने बताउँदै आएका थिए।
यसै प्रयोजनका लागि सभापति देउवाले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा बस्नका लागि असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेलसहित २७ जना सदस्यहरुले १६ बुँदे माग अघि सारेपछि उक्त विषयसँगै कार्यतालिकाको विषयमा पनि सहमतिका आधारमा मिति तय गरी अघि बढ्ने आन्तरिक सहमति भएको थियो।
तर, शुक्रबार अपरान्ह पार्टी मुख्यालयमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्नका लागि दुई महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का लगायतका नेताहरुले तय गरेको संशोधित कार्यतालिकामा नेताहरुबीच कुरा नमिलेपछि आजको बैठकमा क्रियाशील सदस्यता नविकरण र वितरणबारे मात्रै निर्णय गरिएको छ।
बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, महाधिवेशनको प्रयोजनका लागि जिल्लाहरुमा वितरण भइरहेको नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्बन्धित जिल्ला कार्यसमितिले टुंगो लगाई क्रियाशील सदस्यताको नविकरणको सूची तयार गरी, प्रकाशन गरी मंसिर मसान्तभित्रै अनिवार्य रुपमा केन्द्रमा पठाइसक्नु पर्ने निर्णय भएको छ।
बाँकी महाधिवेशन प्रक्रियाका लागि गर्नु पर्ने कार्यतालिकाको विषयमा केही उल्लेख गरिएको छैन।
आजको बैठकमा पार्टी नेता पौडेलले अझै पनि फागुनभित्रै महाधिवेशन गर्न सम्भव रहको भन्दै सोही लक्ष्यका साथ काम गर्नु पर्नेमा जोड दिएका थिए भने, सभापति देउवा र नेता सिटौलाले पूर्वनिर्धारित मिति फागुनभित्र महाधिवेशन गर्न सम्भव नभएको भन्दै नयाँ मिति तय गरी अघि बढ्न जरुरी भएको बताएका थिए।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय