हुम्लाको सीमाक्षेत्रस्थित नेपाली भूभाग अतिक्रमण गरेको विषयमा कांग्रेस नेताले उठाएको आवाजप्रति चीन सरकारको मुखपत्रले सिंगो पार्टी र यसका नेताहरुप्रति लगाएको आक्षेपप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति प्रकट गरेको छ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले चीन सरकारको मुखपत्रका रुपमा परिचित ग्लोबल टाइम्सको हालै प्रकाशित समाचार टिप्पणीलाई आधारहिन र आपत्तिजनक भन्दै निन्दा गरेको छ।
हुम्लाको सीमाक्षेत्रस्थित नेपाली भूभागमा चिनियाँ सरकारी पक्षले अतिक्रमण गरी भौतिक संरचना बनाएको भन्दै हुम्लाबाट कर्णाली प्रदेश सभामा निर्वाचित सदस्य एवं कांग्रेस नेता जीवनबहादुर शाहीले सार्वजनिक गरेको स्थलगत भ्रमण प्रतिवेदनबार तीन दिनअघि प्रकाशित ग्लोबल टाइम्सले गलत दुष्प्रचारको संज्ञा दिएको थियो।
त्यतिमात्र होइन, उक्त पत्रिकाले शाहीलाई भारत र पश्चिमा मुलुकको उक्साहटमा चीन विरुद्ध दुष्प्रचार र अफवाह फैलाएको आरोप लगाएको थियो भने कांग्रेस पार्टीलाई भारत परस्त पार्टीको रुपमा चित्रण गरेको थियो।
यसरी चीनको आधिकारिक मुखपत्रले पार्टी र नेताहरुमाथि नै गम्भीर आरोप लगाउँदा पनि तीन दिनसम्म कुनै औपचारिक प्रतिक्रिया नदिएको कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठकमार्फत तीन बुँदे निर्णय गरी आपत्ति प्रकट गरेको छ।
जसमा भनिएको छ, ‘ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ। नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो। नेपाली कांग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ।’
पत्रिकामा कांग्रेसलाई भारत परस्त, पश्चिमा मुलुकको उक्साहटमा चीन विरुद्ध अफवाह फैलाएको भन्ने आरोपको कडा जवाफमा कांग्रेसले शालिनतापूर्वक भनेको छ, ‘नेपाली कांग्रेस नेपाल बाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन। नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा नेपाली कांग्रेस सधैं अडिग छ र अडिग रहनेछ।’
साथै कांग्रेसले नेपालस्थित चिनियाँ दूतावासले नोभेम्वर १३ मा कांग्रेस पार्टीलाई लेखेको पत्रमा जीवनबहादुर शाहीले सार्वजनिक गरेको प्रतिवेदनलाई आधारविहिन र झुठो भन्दै गैर जिम्मेवार र अमैंत्रीपूर्ण भनि गरेको टिप्पणीप्रति पनि पार्टीको ध्यानाकर्षण भएको बताएको छ।
‘जहाँसम्म जीवनबहादुर शाहीको हुम्लामा सीमा अतिक्रमण भएको प्रतिवेदनको सन्दर्भ छ, उहाँले ७ वुँदे सारसहितको निष्कर्ष र ति निष्कर्षहरुलाई पुष्टि गर्ने १८ वुँदे प्रमाण र आधारहरु समेत प्रस्तुत गर्नु भएको छ। यस सम्बन्धमा शाहीले नेपाल सरकारलाई आफ्नो टोलीले निकालेको निष्कर्षका आधारमा नेपाल सरकारले गर्नु पर्ने कामका सम्बन्धमा ३ वुँदे सुझाव र सिफारिस पनि दिनु भएको छ र उहाँको प्रतिवेदन सीमा सुरक्षाको सरकारको जिम्मेवारीप्रति लक्षित छ,’ कांग्रेसले भनेको छ।
साथै कांग्रेसले यदि चिनियाँ सरकारले भने जस्तै हुम्लामा नेपालको कुनै भूमि अतिक्रमण नभएको हो भने यसको निक्र्योल दुई देशका सरकार बीचको संयुक्त सीमा निर्धारण टोलीले स्थानीय सरोकारवालाहरुको भनाई र ऐतिहासिक भोगचलनको तथ्यसहित आएको तथ्य, सीमा स्तम्भहरुको अवस्था लगायतको प्राविधिक मूल्याङ्कनको आधारमा टुङ्गो लगाउन आपत्ति हुनु पर्ने कुनै कारण नहुनु पर्ने बताएको छ।
यसले नेपाली जनता माझ रहेको आशंका निवारण गर्न मद्दत गने पनि काग्रेसको ठहर छ।
साथै कांग्रेसले सन् १९५९ मा नेपालका तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले सीमा सम्बन्धी चीनसँग गरेको सम्झौताकै आधारमा दुई देशबीच एक अर्काप्रति अहस्तक्षेप र एक अर्काको भू–भागलाई सम्मान गर्ने नीति पालन गर्दै आएको पनि स्मरण गराएको छ।
‘आगामी दिनमा पनि पालना गर्नेछ। नेपाली कांग्रेस दुई देशको मैंत्रीपूर्ण सम्बन्धलाई सत्तामा रहँदा र नरहँदा पनि सधै उच्च प्राथमिकतामा राख्दै आएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले सार्वजनिक गर्नु भएको प्रतिवेदन सम्बन्धमा काठमाडौं स्थित चिनियाँ राजदूतावासको आधारहिन आरोप लामो समयदेखि नेपाली कांग्रेस तथा चिनिया सरकार र जनताबीच रहेको मैंत्रीपूर्ण सम्बन्धको महत्ता र गरिमा विपरीत भएको कुरामा सम्बन्धित पक्षको ध्यानाकृष्ट गर्दछ।’
हुम्लामा नेपाली भू–भागमा अतिक्रमण भएको भन्ने समाचारहरु सार्वजनिक भएपछि नेपाल सरकारको हुम्लामा रहेको प्रमुख जिल्ला अधिकारीसहितको टोलीले त्यस सम्बन्धमा प्रतिवेदन दिनु पूर्व नै परराष्ट्र मन्त्रालयले कुनै अतिक्रमण नभएको विज्ञप्ति सार्वजनिक गरेको प्रसंग उल्लेख गर्दै कांग्रेसले तत्कालै सरकारको ध्यानाकर्षण गराएको बताएको छ।
साथै हुम्ला जिल्लाबाट कर्णाली प्रदेश सभाका सदस्य तथा विपक्षी दलका नेता शाही सहितको टोलीले विस्तृत स्थलगत भ्रमण गरी त्यहाँ नेपाली भूमिमा अतिक्रमण भएको प्रतिवेदन दिएपछि पनि नेपाल सरकारले यस सम्बन्धमा कुनै छानविन गर्न पहल नगर्नु र अर्को तर्फ चिनियाँ सरकारले हुम्लामा कुनै नेपाली भूमि नमिचिएको विज्ञप्ति आएको स्थितिले नेपाली जनतामा थप अन्यौलता छाएको पनि कांग्रेसको निश्कर्ष छ।
साथै कांग्रेसले सरकारको यस्तो गैरजिम्मेवार प्रवृत्तिको निन्दा समेत गरेको बताएको छ।
कांग्रेसले दुबै देशको संयुक्त सीमा सम्बन्धी कार्यदलले यस सम्बन्धमा यथार्थ के भएको हो स्थानीय सरोकारवालाहरुको भनाई, सीमा क्षेत्रको भूमिको ऐतिहासिक भोगचलन र त्यस सम्बन्धी तथ्याङ्क र शाहीको टोलीले उठाएका मुद्दाहरुलाई समेत ध्यानमा राखी छानविन गरी यथार्थ स्थिति सार्वजनिक गर्न समेत माग गरेको छ।
यसले सीमा सम्बन्धमा पैदा भएको अन्यौललाई चिर्न मद्दत पुग्ने मात्रै नभएर नेपाली जनतालाई नेपालको भूमिको सुरक्षा सम्बन्धमा सिर्जित अन्यौलको अन्त्य हुने विश्वास कांग्रेसले लिएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय