हिमाल दैनिक
भारतीय विदेश सचिव फर्किएको पर्सिपल्टै चिनियाँ रक्षामन्त्री काठमाडौंमा
PRO_KTM_ARMY_20201129_IMG_0033
भारतीय विदेश सचिवले नेपाल भ्रमण गरेर फर्किएको दुई दिन नबित्दै उत्तरी छिमेकी राष्ट्र चीनका रक्षामन्त्री वेई फेङ्हले नेपालको एक दिने भ्रमणमा काठमाडौं आइपुगेका छन्। पछिल्लो समय सीमा विवादको विषयमा एकआपसप्रति छत्तिसको आँकडामा रहेका भारत र चीनसँगै नेपालसँग पनि सीमा विवाद बल्झिँदै गएको बेला दुई ठूला महाशक्ति राष्ट्रले उच्चस्तरिय प्रतिनिधि मण्डलको भ्रमण गराएर नेपालप्रति विशेष चासो बढाएका हुन्। नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसर पारेर रक्षामन्त्री वेई आइतबार बिहान काठमाडौैं आइपुगेका हुन्। चीनको राज्यपरिषद सदस्य तथा रक्षामन्त्री वेईले नेपाल र चीनका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका तहमा भएका दुईपक्षिय सम्झौता र समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताए। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पत्रकारहरुसँग सक्षिंप्त प्रतिक्रिया दिँदै चिनियाँ रक्षामन्त्री वेईले दुई देशबीच पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै आपसी सम्बन्धलाई थप सुदृढ बनाउनु आफ्नो भ्रमणको उद्देश्य भएको सरकारी संचारमाध्यमले बताएका छन्। साथै उनले नेपाल र चीनबीच सबल र सुदृढ सम्बन्ध रहेको बताउँदै त्यसलाई नयाँ उचाइमा पुर्याउन आफ्नो भ्रमणले मद्दद पुग्ने दाबी गरे। करिब दश महिना अघि चीनको बुहानबाट सुरु भई विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण आफ्नो भ्रमण तालिका केही ढिला भएको बताउँदै आफ्नो भ्रमण सफल हुने विश्वास पनि व्यक्त गरे। वेर्ईले भने, ‘यो भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु।’ चिनीयाँ रक्षामन्त्री वेईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापा लगायत सरकारी उच्च अधिकारीले स्वागत गरेका थिए। नेपाल भ्रमणमा २१ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै विमानस्थल आइपुगे लगत्तै रक्षामन्त्री वेई सुरुमा चिनियाँ राजदूतावासमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन नेपालस्थित चिनियाँ दूतावास पुगेका छन्। त्यसपछि करिब २ बजे उहाँ सैनिक मुख्यालय जंगी अड्डामा पुग्ने र त्यहाँ उनलाई नेपाली सेनाले गार्ड अफ अनरले सम्मान गर्नेछ। त्यसपछि रक्षामन्त्री वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटार पुग्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि वेई राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ। त्यहाँबाट उनी आजै साँझ स्वदेश फर्किने बताइएको छ। रक्षामन्त्री वेईले झन्डै एक वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण गर्ने पहिलो सरकारी प्रतिनिधि भएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ को अक्टोबर दोस्रो साता नेपालको भ्रमण गरेयता कुनै पनि उच्च चिनियाँ अधिकारी नेपाल आएका थिएनन्।    
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update