सरकारले मंगलबार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने जनाएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको नापी बिभागले सोमबार पत्रकार सम्मेलन गर्दै चिनियाँ पक्षसँग समन्वय गरेपछि उचाइ सार्वजनिक गर्ने मिति तय भएको जानकारी दिइएको छ।
विभागका महानिर्देशक प्रकाश जोशीले झन्डै दुई साताअघि मन्त्रिपरिषद्ले अनुमोदन गरेको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागिएको जानकारी दिए।
उचाइ घोषणापछि अध्ययन विधि जस्ता अन्य प्राविधिक विवरण सार्वजनिक गर्दै जोशीले जानकारी दिए। उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिने पनि उनले बताए।
सगरमाथाको उचाइ सार्वजनिक गर्ने भनिएपनि देशको नयाँ क्षेत्रफल सार्वजनिक गर्न सरकार अझै तयार देखिएको छैन।
भारतीय सरकारले विगत लामो समयदेखि अतिक्रमण गरिरहेको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा एकवर्ष अघिदेखि विवाद बढ्दै गएको थियो। भारतीय रक्षामन्त्रीले उक्त क्षेत्रबाट मानसरोवर जाने बाटो एकतर्फी रुपमा उद्घाटन गरेपछि नेपाल सरकारले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा उक्त भूभाग नेपालकै भएको भन्दै एकतफी नयाँ नक्सा सार्वजनिक गरेको थियो।
जसलाई गत जेठ महिनाको अन्तिम साता संघीय संसदले समेत संविधान संशोधन गर्दै उक्त भूभागसहितको नयाँ नक्सा रहेको देशको निशान छाप प्रयोगमा ल्याएको थियो।
भारतीय अतिक्रमणमा रहेको सुदूरपश्चिमको दार्चुलास्थित कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभागसहितको नयाँ नक्सामा देशको आकार बढेपनि त्यसअनुसारको क्षेत्रफल कति कायम भएको छ भन्नेबारे अझैसम्म पनि औपचारिक रुपमा सार्वजनिक गर्न सकिरहेको छैन।
संविधान संशोधन गरेलगत्तै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आफूनिकट केही तीन जना व्यक्ति सम्मिलित कार्यदललाई नयाँ नक्सासहितको देशको इतिहास र भूगोल सम्बन्धि पुस्तक प्रकाशन गर्न पाठ्क्रम विकास केन्द्रलाई निर्देशन दिएका थिए। उक्त कार्यदलले भाषा, शैली र तथ्यमात्र होइन, अक्षांश र देशान्तरसमेत उल्टापाल्टा पार्दै अनगिन्ती त्रुटिले भरिएको पुस्तक प्रकासित गरेका थिए।
जसमा नेपालको नयाँ नक्सा अनुसार, ५४२ वर्गकिलोमिटर भारतले अतिक्रमण गरेको भूभाग थप गर्दै १,४७,६४१.२८ वर्ग कि.मि. कायम भएको उल्लेख छ। तर, त्यसलगत्तै नापी विभागले नेपालको पुरानो क्षेत्रफल १,४७,१८१ मा थप ८२५.६७ वर्गकिलोमिटर जोड्दै नेपालको नयाँ नक्साको कुल क्षेत्रफल १ लाख ४८ हजार ६ दशमलव ६७ वर्गकिलोमिटर रहेको प्रस्ताव निर्णयार्थ मन्त्रालयमा पठाएको समाचार प्रकासित भएको थियो।
जसको कारण पाठ्यक्रम विकास केन्द्रले प्रकासित गरेको पुस्तक र नापी विभागले अघि सारेको तथ्यांकबीच नै ठूलो अन्तरविरोधले राज्यकै निकायमा पनि देशको क्षेत्रफलबारे अन्यौलता र अस्पष्टता रहेको गलत सन्देश प्रवाह भएको थियो।
तर, प्रधानमन्त्री केपी शर्मा आलीले एकाएक पाठ्क्रम विकास केन्द्रले प्रकासित गरेको नयाँ नक्सासहितको पुस्तक मात्र सार्वजनिक गर्न रोक लगाइएन, नापी विभागले तयार पारेको नयाँ क्षेत्रफलसहितको तथ्यांक समेत सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषद्मा छलफल र निर्णयार्थ पेश हुन सकिरहेको छैन।
यसका बाबजूद मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो भने उचाइ सार्वजनिक गर्ने प्रक्रिया अघि बढाउने जिम्मेवारी मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयलाई दिएको थियो।
गएको वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने विश्वको सर्वोच्च शिखरको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने र त्यसमा मिलेर वैज्ञानिक अनुसन्धानहरू अघि बढाउने सहमति भएको थियो।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय