देशमा पछिल्लो समय उत्पन्न परिस्थितिबारे हार, गुहारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने उल्टै प्रधानमन्त्री ओलीविरुद्ध खनिने तयारी गरिरहेको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको गतिविधिबाट असन्तुष्ट बनेका आमजनताको निराशासँगै सडकमा देखिएको व्यवस्था विरोधी गतिविधिबारे प्रधानमन्त्री ओलीले मंगलबार बिहान बालुवाटारमा सर्वदलीय बैठक डाकेका छन्।
ओलीले बैठकमा आउन खबर गरेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले उक्त बैठकको विषयमा सोमबार अपरान्ह आफ्नै निवासमा पार्टीका वर्तमान तथा पूर्व पदाधिकारी लगायतका नेताहरुलाई बोलाएर आन्तरिक परामर्श गरे।
नेताहरुबीच भएको छलफल र परामर्शमा पार्टी नेतृत्वले भोलिको सर्वदलीय बैठकमा उपस्थित भएर नेताहरुले प्रधानमन्त्री ओली र उनको नेतृत्वमा रहेको सरकारको तीनवर्षे कार्यकालमा भएका भ्रष्टाचारजन्य गतिविधि, कुशासन र अकर्मण्यताले जनतामा निराशा छाएको स्पष्ट विचार राख्ने सहमति बनेको छ।
साथै पछिल्लो समय देशमा आम जनता कोरोना महामारीबाट आक्रान्त हुँदा पनि सरकारले संक्रमितको पहिचान, निःशुल्क परिक्षण र उपचार गरी संक्रमण नियन्त्रण गर्ने भन्दा पनि महामारीमा पनि भ्रष्टाचार, अनियमितता लगायतका गैरजिम्मेवारीपूर्ण र विवादस्पद कदम जारी राखेकै कारण जनतामा निराशा छाएको र सडकमा व्यवस्था विरुद्ध नै नारावाजी सुरु भएको भन्दै यसको सम्पूर्ण दोष ओलमिाथि नै थोपार्ने तयारी गरेको छ।
साथै पछिल्लो समय देशका विभिन्न शहरमा संविधान, गणतन्त्र र संघीयताको विरोधमा देखिएको विरोधका स्वरहरु वास्तवमा संविधान अथवा त्यसले तय गरेको शासन व्यवस्थाका कारण भन्दा पनि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली र उनको नेतृत्वमा रहेको सरकारको असफलताको परिणाम भएको निश्कर्ष कांग्रेसले निकाल्दै सोही धारणा नेताहरुले सर्वदलीय बैठकमा राख्ने जानकारी बैठकमा सहभागी एक नेताले दिए।
यसका अतिरिक्त सरकार र राष्ट्रप्रमुखबाट भएका कतिपय विवादस्पद गतिविधिका कारण पनि जनतामा वितृष्णा पैदा भएको भन्दै कांग्रेसले तत्काल त्यस्ता गतिविधि रोक्न तथा देशको जल्दाबल्दा विषयहरुमाथि संसदभित्र गम्भीर बहस र छलफल गरी साझा अवधारण तय गर्न तत्काल संघीय संसदको अधिवेशन बोलाउन माग गर्ने पनि बताइएको छ।
सरकारविरुद्ध सडकमा उत्रने तयारी गरिरहेको कांग्रेसले भोलिका लागि तय गरिएको सर्वदलीय बैठक आफ्नो विरोध कार्यक्रमलाई प्रभावित पार्ने प्रधानमन्त्री ओलीको रणनीति पनि हुन सक्ने भएपनि त्यसबाट प्रभावित नहुने अडान कांग्रेस नेतृत्वले राख्ने भएको छ।
गत बुधबार तनहुँको एक सार्वजनिक कार्यक्रममा सहभागी हुन पुगेका पार्टी नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यवहारबाट थप रुष्ट र आक्रोसित बनेको कांग्रेसले मंसिर २९ गते ७७ जिल्लामा सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गर्दै त्यसको आन्तरिक तयारीमा लागिरहेको छ।
कांग्रेसको नेतृत्वले भोलिको सर्वदलीय बैठकमा सरकारको चौतर्फी असफलतासँगै सरकारले कोरोना महामारीबाट देश र जनतालाई सुरक्षित राख्ने भन्दा महामारीमा पनि भ्रष्टाचार, अनियमितता, चरम राजनीतिकरण र जनविरोधी गतिविधिको विरोधमा आफूहरु २९ गते सडकमा उत्रने जानकारी पनि प्रधानमन्त्री ओलीलाई दिने छन्।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय