प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सडकमा उठेका विरोधका स्वरहरुलाई पार्टी र सत्ताको नेतृत्व बचाउने रक्षाकबचका रुपमा उपयोग गर्ने असफल प्रयास गरेका छन्।
आफ्नै नेतृत्वमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैबाट पार्टी र सरकारको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाएर संकटको सामना गरिरहेका प्रधानमन्त्री ओलीले सडकमा देखिएको व्यवस्था विरोधी गतिविधिलाई देखाएर आफ्नो बचाउ गर्ने कोशिश गरेका हुन्।
संघीय संसदमा रहेका राजनीतिक दलका नेताहरुलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर सर्वदलीय बैठकको आयोजना गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुनु पर्नेमा जोड दिएका थिए।
साथै उनले पछिल्लो समय प्रतिगमनकारी शक्तिहरुले गरेका संविधान विरोधी र हिंसात्मक गतिविधि सैह्य नहुने भन्दै सडकमा देखिएको व्यवस्था विरोधी गतिविधिबारे संसदमा रहेका दलहरुको सल्लाह र सुझाव माग गरेका थिए।
बैठकमा विषय प्रवेश गराउँदै प्रधानमन्त्री ओलीले पहिलो विषयका रुपमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले चालेका निर्णय र कदमबारे अन्य दलका नेताहरुलाई जानकारी दिएको बैठकपछि कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए।
दोस्रो विषयका रुपमा प्रधानमन्त्रीले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै संविधान विरोधी गतिविधिहरुलाई परास्त गर्र्न सबै एक जुट हुनु पर्ने बताउँदै यसबारे अन्य दलका नेताहरुको धारणा माग गरेको महतले बताए।
त्यसपछि बैठकमा उपस्थित कांग्रेसका नेताहरु रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार र सहमहामन्त्री महतले पालैपालो बोल्दै सडकमा देखिएको असन्तुष्टि र आक्रोस व्यवस्थाको विरुद्धमा भन्दा पनि प्रधानमन्त्री ओली र उनको नेतृत्वमा रहेको सरकारकै अकर्मण्यताको परिणाम भएको आरोप लगाएका थिए।
महतका अनुसार, कांग्रेसका नेताहरुले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै अहिले सडकमा जे जस्ता गतिविधिहरु भइरहेका छन् त्यसमा सरकारकै कमजोरी, राज्यको विभेद र दमनकारी नीतिसँगै कोरोना नियन्त्रणमा सरकारको असफलता र हरेक क्षेत्रमा व्याप्त भ्रष्टाचारजन्य गतिविधि र शुशासनका कारण जनतामा छाएको निराशाको परिणाम भएको बताए।
‘जब सरकार र सरकारको नेतृत्वले जनताको अपेक्षा विपरित गएर काम गर्छ र संविधानको कार्यान्वयन गराउन सक्दैन त्यसबाट जनतामा उत्पन्न निराशालाई अहिले विभिन्न कोणबाट यसको राजनीतिक फाइदा उठाउने र माहोल आफ्नो पक्षमा पार्ने खोज्ने कोशिश भइरहेको छ,’ नेताहरुले बैठकमा राखेको विचार उल्लेख गर्दै महतले भने।
कांग्रेसका नेताहरुले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै यो तपाईको कार्यशैली, असफलता र दिशाहिनताको परिणाम स्वरुप तपाइकै खिलाफमा देखिएको असन्तुष्टि हो भन्दै सचेत हुन आग्रह गरेका थिए।
‘जबसम्म तपाई आफैँ सच्चिनु हुन्न र सरकारले आफ्ना गतिविधिहरु सच्याउँदैन् यसले सिंगो संविधान र व्यवस्थाको विरोधमा रहेकाहरुलाई पर्याप्त स्थान दिन्छ। त्यसैले पहिले आफ्ना गतिविधिहरु सुधार्नुहोस् त्यसपछि अरु कुराको समाधान यही संविधान र व्यवस्थाभित्रै खोज्न सकिन्छ,’ बैठकमा आफूहरुले राखेको धारणा उल्लेख गर्दै महतले भने।
साथै कांग्रेसका नेताहरुले अहिलेको शासन व्यवस्थाका लागि दशकौं लडेर ल्याएको बताउँदै यो व्यवस्था बचाउन र सरकारले गरेका जनविरोधी गतिविधिहरुको विरुद्धमा आफ्नो पार्टी सदनदेखि सडकसम्म उत्रने जानकारी पनि दिएका थिए।
साथै कांग्रेसका नेताहरुले कोरोना महामारी नियन्त्रणमा भएको राज्यको असफलता, जनतामा छाएको निराशा र सडकमा देखिएको असन्तुष्टिबारे गम्भीर बहस र निकास खोज्न तत्काल संघीय संसदको बैठक बोलाउन पनि माग गरेका थिए।
त्यस्तै जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादवले पनि सरकारको कमिकमजोरीबारे आफ्नो विचार राखेका थिए।
केही समय अघिसम्म ओली नेतृत्वकै सरकारमा साझेदारी गरेर बसेका नेता यादवले सरकारले कुनै पनि काम गर्नै नसकेको भन्दा पनि केही कामहरु भएपनि जनअपेक्षा अनुसार भने हुन नसकेको भन्दै ओलीलाई हल्का त्राण दिएका थिए।
त्यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजावादीहरुको आन्दोलनमा नैतिक समर्थन रहेको जानकारी दिँदै संविधानभित्र राजालाई संसदको मातहतमा राखेर अगाडी बढ्न सकिन्छ भन्ने विकल्प अघि सारेका थिए।
तर, उनले राखेको प्रस्तावको विषयमा प्रधानमन्त्री ओलीले कुनै जवाफ दिएनन्।
राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रका विषयमा सर्वदलीय बैठक राखेर निर्णय गर्न माग गरेको जानकारी बैठकपछि राप्रपा नेता दीपक बोहोराले दिए।
बैठकमा राजनीतिक दलका नेताहरुले राखेका विचार र प्रश्नहरुको विषयमा जवाफ दिएर समापन गर्र्ने क्रममा प्रधानमन्त्री ओलीले बैठकमा प्राप्त सकारात्मक सुझावहरु ग्रहण गरेर अघि बढ्ने बताएका थिए।
‘तर, सरकारको आलोचना गर्ने नाममा आधार र तथ्यहिन ढंगले सरकार र सरकारका सबै काम कारबाही खराबै छन् भनि आलोचना गरिरहँदा यसले सरकारको भन्दा पनि व्यवस्थाकै खिलाफमा वातावरण बन्ने र व्यवस्था विरोधीलाई फाइदा हुने अवस्था आउँछ,’ ओलीले व्यक्त गरेको भनाई उल्लेख गर्दै एक नेताले भने।
उपेन्द्र यादवले बोल्ने क्रममा सरकारले केही पनि नगरेको भन्नु भन्दा पनि केही काम गरेको छ भनि व्यक्त गरेको प्रतिक्रियाबाट प्रफुल्लित भएका प्रधानमन्त्री ओलीले जवाफ दिने क्रममा यादवको प्रशंसा समेत गरेका थिए।
साथै उनले अन्त्यमा आफूले सकेसम्म राम्रो गर्ने कोशिश गर्ने तर, नराम्रो मात्रै भयो भन्ने हल्ला र आधारहिन आलोचनाले आफू र आफ्नो नेतृत्वको सरकार भन्दा पनि व्यवस्था नै कमजोर हुने धारणा राखेका थिए।
आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित भएपनि विशेष काम परेको भन्दै आफ्नो दलबाट पौडेलसहितका अन्य नेताहरुले विचार राख्ने बताउँदै बाहिरिएका थिए।
तर, सत्तारुढ नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहालसहितका अन्य शीर्र्ष नेताहरु पनि बैठकमा उपस्थित भएपनि उनीहरुलाई न त प्रधानमन्त्री ओलीले बैठकमा कुनै धारणा राख्न नै समय दिए न त नेताहरु स्वयंले नै बोल्नका लागि समय माग गरेका थिए।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय