विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । मंगलबार नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यी लगायतको टोलीद्वारा भर्चुअल रूपमा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गरिएको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर भएको छ ।
नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको हो । नेपालले करीब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो ।
सगरमाथा उचाई घोषणा कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले शिखर सगरमाथाको उचाइ सार्वजनिक गर्ने ऐतिहासिक काम भएको बताए । उनले अव जलवायु परिवर्तनबाट हिमाललाई जोगाउनका लागि प्रभावकारी रुपमा काम गर्ने बेला आएको धारणा राखे ।
त्यस्तै भूमिसुधारमन्त्री पद्मा अर्यालले शिखर सगरमाथाको उचाइ नापेर नेपालको नापी क्षेत्रको क्षमता देखिएको बताईन ।
कार्यक्रममा सर्वोच्च शिखर सगरमाथाको उचाइ लिन महत्वपूर्ण भूमिका खेलेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए । सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो । सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय