हिमाल दैनिक
देउवा अनुपस्थित हुने भएपछि आजको संवैधानिक परिषदको बैठक स्थगित
sher bahadur-deuba
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषदको बैठकमा स्थगित भएको छ । राज्यका विभिन्न संवैधानिक निकायमा पदपूर्ति गर्न प्रधानमन्त्री ओलीले आज बिहान संवैधानिक परिषदको बैठक बोलाएका थिए। तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध २९ गते सोमबार गर्न लागेको देशव्यापी प्रदर्शनका कारणले शनिबार सभापति देउवाले आफु बैठकमा उपस्थित नहुने बताएपछि आजको बैठक स्थगित भएको हो। सबै क्षेत्रमा असफल सावित भएको भन्दै कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने तयारीमा रहेको समय शुक्रबार एकाएक प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटार बोलाए । देउवासंगको भेटमा ओलीले आइतबार संवैधानिक परिषदको बैठक बोलाएको छु, भन्दै लामो समयदेखि थुप्रै संवैधानिक निकायमा पदपूर्ति हुन नसकेको बताउँदै यसरी लामो समय पदपूर्ति नगरी रिक्त राखिरहनु उचित नभएको विचार व्यक्त गरे। यति लामो समय रिक्त रहेको पदमा एकाएक ओलीले कांग्रेसको कार्यक्रमभन्दा एकदिन अघि पदपूर्ति गर्नुपर्ने भन्दै बैठक बोलाएपछि सशंकित बनेका देउवाले बैठकमा उपस्थित नहुने जानकारी पठाए। कांग्रेसले सोमबार २९ गते ७७ जिल्ला केन्द्रित बिरोधका कार्यक्रम सार्वजनिक गर्दै त्यसको तयारीमा जुटी राखेको छ।

ओलीको नियतप्रति सशंकित देउवा बालुवाटार बैठकमा नजाने

त्यस्तै, पछिल्लो समय सत्तारुढ दल नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल लगायतका असन्तुष्ट पक्षका शीर्ष नेताहरु र ओलीबीचको विवादका कारण दाहाल निकट सभाभुख सापकोटा परिषद बैठकमा उपस्थित हुने वा नहुने ओली स्वयं पनि स्पष्ट हुन सकिरहेका थिएनन । अब अहिले देउवा पनि नजाने भएपछि ओलीले बैठक नै स्थगित गरेका छन् । प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका सबै संवैधानिक निकायमा पदपूर्ति गर्नु पर्ने भएको कारण देखाउदै आइतबार परिषदको बैठक बोलाएको बताएका थिए।
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update