सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि सडकमा विरोध प्रदर्शन भएको छ।
पार्टीका शीर्ष नेताहरुबीचको गम्भीर आन्तरिक मतभेद र विवादका कारण अन्यौलतामा रहेको नेकपा स्थायी कमिटी बैठकका लागि सत्तारुढ पार्टीका शीर्ष नेतादेखि अन्य सदस्यहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न पुग्दै गर्दा बाहिर सडकमा भने नेकपा सचिवालय तथा राष्ट्रियसभा सदस्य श्रेष्ठविरुद्ध स्वतन्त्र युवाहरुको नाममा नारावाजी र विरोध प्रदर्शन भएको हो।
नेकपा नेता तथा संविधानसभा सदस्य कमानसिंह लामाले कोरोना संक्रमणबाट मर्नुअघि सार्वजनिक गरेको पत्र तथा आर्थिक लेनदेनको विषयमा भएको अडियो प्रकरणमा मुछिएका पार्टी प्रवक्ता श्रेष्ठमाथि निश्पक्ष छानबिनको माग गर्दै उनीहरुले नारावाजी गरेका थिए।
प्रदर्शनकारीहरुले नारायणकाजी श्रेष्ठ र सुसन कर्माचार्यको सम्पत्ति छानविन गर्न पनि माग गरेका छन्। उनीहरुले ‘हेल्लो नारायणकाजी, एउटा झुठ छोप्न सयवटा झुठ नबोल्नुस’ भन्दै नारा लगाएका थिए।
कमानसिंहले पनि निधन हुनुअघि नारायणकाजीको नाम उल्लेख नगरी आफ्नी कान्छी श्रीमती र केही व्यक्तिहरुको कारण आफ्नो जीवन बर्बाद भएको फेसवुक स्टाटस राखेका थिए। चार दिन अघि लामाको निधन पश्चात लामा र श्रेष्ठबीच भएको आर्थिक लेनदेनको विवादसम्बन्धि अडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि नेकपा प्रवक्ता श्रेष्ठ विवादमा तानिएका थिए।
तर, श्रेष्ठले भने आफूले कमानसिंहले जलविद्युतमा लगाएको सेयरको हिसाब मिलाउन मध्यस्थकर्ताको मात्रै भूमिका निर्वाह गरेको स्पष्टीकरण दिँदै उक्त विषयमा आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्।
नेकपाभित्रको आन्तरिक शक्ति संघर्षले उचाई लिँदै राष्ट्रिय राजनीति र सिंगो शासन व्यवस्थामाथि नै अन्यौलताको वातावरण निर्माण गरिरहेकै बेला श्रेष्ठको उक्त विवादस्पद विषयले पार्टी बाहिर भन्दा पनि स्वयं उनकै पार्टीभित्रका विरोधी खेमामा विशेष चर्चा र महत्व पाइरहेको छ।
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय