हिमाल दैनिक
चिस्सिएको मौसममा देशैभरी तात्यो कांग्रेस
Deuba in hetauda
ऋतु परिवर्तनको क्रमसँगै चिस्सिँदै गएको मौसममा एकाएक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र यसका नेता कार्यकर्ताहरु तातेका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको बलशाली सरकारको चौतर्फी असफलता र जनतामा छाएको निराशाकाबीच कांग्रेसले आज अपरान्ह देशमा ७७ जिल्ला सदरमुकाममा विरोध कार्यक्रम गरेर आफ्नो गतिविधिलाई बढाएको छ। विशेषगरी कोरोना महामारी नियन्त्रण र जनस्वास्थ्य सुरक्षाको विषयदेखि शासनसत्ता संचालनमा सरकारको असफलतासँगै सरकारले अपनाएको सर्वसत्तावादको विरोध गर्दै कांग्रेसले आज देशभरी नै विरोध कार्यक्रम राखेको थियो। यसैक्रममा सभापति शेरबहादुर देउवा हेटौँडाको कार्यक्रममा सम्बोधन गर्न उक्त जिल्लामा पुगिसकेका छन् भने पार्टी नेता रामचन्द्र पौडेलले काठमाडौंको शान्तिवाटिकामा आयोजित विरोध सभामा सम्बोधन गर्न पुगेका छन्। यसैगरी उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री शशांक कोइराला विराटनगर, सहमहामन्त्री प्रकाशशरण महत झापा, नेता प्रकाशमान सिंह जनकपुर, गगनकुमार थापा कैलाली पुगेर कार्यकर्ताहरुलाई विरोध कार्यक्रममा सहभागी हुन उर्जा दिँदैछन्। सभापति देउवाले आज हुने विरोध कार्यक्रमलाई सरकार विरुद्धको सांकेतिक प्रदर्शनको सुरुवातको संज्ञा दिइसकेका छन्।  
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update