हिमाल दैनिक
संवैधानिक परिषदको काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि ऐनलार्ई प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संशोधन गर्दै अध्यादेश जारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोसित भएका छन्। मंगलबार बिहान प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा उनैको दलबाट निर्वाचित भएका सभामुख अग्निप्रसाद सापकोेटा अनुपस्थित भएपछि बैठकको कोरम नपुगेर साँझ पाँच बजेका लागि पुनः बैठक बस्ने प्रधानमन्त्रीको आग्रहमा सहमति जनाएर फकिएका देउवाले एकाएक अध्यादेश जारी भएको जानकारी पाएपछि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीसँग रुष्ट बन्न पुगेका हुन्। सत्तारुढ दलभित्रको आन्तरिक विवादको भूमरीमा संवैधानिक परिषद परेपछि त्यसको समाधान खोज्ने भन्दा पनि प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई हात लिएर अध्यादेशमार्फत ऐनमा रहेको व्यवस्था हटाएको समाचार प्रकासित भएलगत्तै देउवाले साँझ ५ बजेका लागि तय गरिएको संवैधानिक परिषदको बैठकमा नजाने निर्णय लिएको स्रोतले बतायो। संविधान र कानूनसँगै राजनीतिक परिवर्तन पश्चात अपनाइँदै आएको विधि, प्रक्रिया, परम्परा र अभ्यासलाई तिलाञ्जली दिएर प्रधानमन्त्री ओलीले अध्यादेश जारी गरेको भन्दै देउवाले यसबारे पार्टीभित्र आन्तरिक छलफलका लागि केही नेताहरुलाई अहिले आफ्नै निवासमा बोलाएका छन्। पार्टीभित्र छलफल गरेपछि देउवाले केही समयपछि सरकारकाे कदमकाे विराेधमा कडा विज्ञप्ति जारी गर्ने तयारी गरिरहेकाे स्राेतले बतायाे। उता सत्तारुढ दलभित्रैबाट पनि सरकारको सिफारिसमा जारी भएको अध्यादेशप्रति गम्भीर असहमति जनाउने क्रम सुरु भएको छ।  
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update