प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी अध्यादेश तत्काल खारेज गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै द्वितीय अध्यक्ष पुष्पकमल दाहालले माग गरेका छन्।
नेकपाभित्रको आन्तरिक द्वन्द्धको चपेटामा संवैधानिक परिषदको बैठक समेत प्रभावित भएपछि प्रधानमन्त्री ओलीले मंगलबार अपरान्ह मन्त्रिपरिषदको बैठकबाट अध्यादेश जारी गर्न सिफारिस भएलगत्तै राष्ट्रपति भण्डारीले जारी गरेको अध्यादेशबारे अध्यक्ष दाहालले आपत्ति प्रकट गर्दै उक्त निर्णय खारेज गर्न माग गरेका हुन्।
दाहालले संविधानको मूल्य, मान्यता र भावना विपरित गएर प्रधानमन्त्रीले एकतर्फी रुपमा अध्यादेश जारी गरेको भन्दै उक्त अध्यादेश फिर्ता लिन सरकार र राष्ट्र प्रमुखलाई आग्रह गरेको दाहाल निकाट स्रोतले बतायो।
उनले उक्त अध्यादेशलाई असंवैधानिक मात्र नभई ओलीको कुनियतले आएको परिवर्तन विरोधी कदमको संज्ञा दिएका छन्।
यसअघि गत वैशाखमा पनि ओलीले संवैधानिक परिषदमा विपक्षी दलको नेताको भूमिकालाई निस्तेज पार्दै परिषदका तीन सदस्यको बहुमतले नै संवैधानिक निकायमा नियुक्तिको सिफारिस गर्न सकिने व्यवस्थासहितको अध्यादेश जारी गराएका थिए।
उक्त अध्यादेशसँगै राजनीतिक दल विभाजनका लागि दल सम्बन्धी अध्यादेश जारी गरेको सरकारले आफ्नो निर्णयमा चौतर्फी आलोचना र विरोधसँगै मधेसी दल विभाजनको उद्देश्य विफल भएपछि चार दिनमै आफ्नो निर्णय बदलेर अध्यादेश खारेज गरेको थियो।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय