संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी विवादस्पद अध्यादेश जारी गरेर चौतर्फी आलोचनाको भूमरीमा परेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।
मंगलबार साँझ सात बजेपछि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसँग छलफल र परामर्श गर्न शीतल निवास पुगेपनि छलफलको विषयबारे केही जानकारी दिइएको छैन।
मंगलबार बिहान आफ्नै दलको तर्फबाट निर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिमा संवैधानिक परिषद बैठक चलाउन नसकेका प्रधानमन्त्री ओलीले तत्काल राष्ट्रपति भण्डारीलाई सभामुख र विपक्षी दलका नेताहरु अनुपस्थित हुँदा पनि परिषद बैठक चलाउन र तीनमध्ये दुई जनाको समर्थनमा निर्णय लिन सकिने आफु अनुकूलको व्यवस्था गरेका थिए।
सोही अध्यादेशका आधारमा मंगलबार साँझ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाको अनुपस्थितिमै राष्ट्रिय सभा अध्यक्ष र सर्वोच्च अदालतका प्रधानमन्यायाधीशको उपस्थितिमा परिषदको बैठक बोलाएका थिए।
उक्त बैठकले संवैधानिक निकायमा नियुक्तिको विषयमा सामान्य छलफल गरेपनि कुनै निर्णय नगरेको जानकारी परिषदका सदस्य एवं राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिए।
ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा आफ्ना प्रियपात्र पूर्व सचिव प्रमेकुमार राईलाई नियुक्तिको सिफारिस गर्ने योजना मुताविक आफ्ना गतिविधि अघि बढाइरहेका छन्।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय