संसदीय संसदमा रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र तेस्रो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय संसदको अधिवेशन तत्काल बोलाउन माग गरेका छन्।
नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग वार्ताका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार अपरान्ह पुगेका जसपाका शीर्ष नेताहरुले कांग्रेसका शीर्ष नेताहरुसँगको छलफलका क्रममा तत्काल संघीय संसदको बैठक बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका हुन्।
दुई दलका नेताहरुबीचको छलफलमा सहभागी कांग्रेस नेता रमेश लेखकका अनुसार, आजको बैठकमा शुक्रबार कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले गरेको निर्णय बमोजिम प्रतिपक्षमा रहेका कांग्रेस र जसपा नेताहरुबीच मोटो सैद्धान्तिक सहमति कायम गर्दै संसदको अधिवेशन अबिलम्ब बोलाउन माग गर्ने निर्णय भएको हो।
यसरी संसदको हिउँदे अधिवेशन अव्हान भइसकेपछि उक्त अधिवेशनमा प्रतिपक्षमा रहेका दुई दल कांग्रेस र जसपाले आपसमा हुनसक्नेसम्मका विषयवस्तुमा साझा सहमति कायम गरे सदनमा प्रतिपक्षीको भूमिका सशक्त र प्रभावकारी बनाउनेबारे पनि सहमति बनेको लेखकले बताए।
शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले कोरोना महामारी नियन्त्रणमा पूर्णरुपले असफल रहेको सरकार र यसका कारण देशको राजनीतिक व्यवस्थाप्रति उत्पन्न वितृष्णसँगै देशमा व्याप्त भ्रष्टाचार, कुशासन र अराजकताबारे छलफलका लागि संसदको अधिवेशन बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको थियो।
त्यसको भोलिपल्टै शनिबार अपरान्ह जसपाका नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई र राजेन्द्र महतो कांग्रेस शीर्ष नेताहरुसँग कुराकानी गर्न देउवा निवासमा पुगेका थिए।
आजको छलफलमा कांग्रेसको तर्फबाट पार्टी नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु मीनेन्द्रप्रसाद रिजाल र रमेश लेखक उपस्थित रहेका थिए।
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय