हिमाल दैनिक
हिन्दुराष्ट्र र राजसंस्था पुनस्थापनका लागि राप्रपाद्वारा पुस १७ गते शक्ति प्रदर्शनको घोषणा
FB_IMG_1608366683197
देशमा बढ्दै गएको अराजकता, भ्रष्टाचार, अनियमितता तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको विकल्प नभएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुस १७ गते शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ। आन्दोलन परिचालनको लागि पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा समिति समेत गठन गरेर राप्रपा सडक संघर्षमा उत्रिएको हो। परिवर्तनको मार्गचित्र नै गलत भएकोले त्यसलाई सच्याएर हिन्दुराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र र संघियताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको स्थापना गर्न आन्दोलन अपरिहार्य रहेको निष्कर्ष निकाल्दै राप्रपाले यसका लागि आफू सडकमा शक्ति प्रदर्शनमा उत्रन लागेको हो। शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले पार्टीले लिएका एजेण्डा हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र पुनःस्थापना गर्न र सबै सहज रुपमा अटाउने नेपालको निर्माण गर्न आन्दोलनको विकल्प नरहेको बताए। राप्रपाले अंगिकार गरेका एजेण्डाहरुलाई सुन्न समेत नचाहने तप्कामा समेत पार्टीका एजेण्डाहरुको विषयमा बहस सुरु हुनु सुखद रहेको बताउँदै एजेण्डा स्थापनार्थ देशभर आन्दोलनको लागि तयार रहन सबै नेता कार्यकर्ताहरुलाई उनले आग्रह समेत गरे। सम्बोधनकै क्रममा अर्का अध्यक्ष पशुपतिशम्शेर जबराले राप्रपाले अंगिकार गरेको नीति र सिद्धान्तप्रति जनचासो द्रुत गतिमा बढिरहेकोले आन्दोलनको आँधीबेहेरीमार्फत राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना पश्चात मात्र देश संकटमुक्त भएर विकासको दिशातर्फ अग्रसर हुने ठोकुवा गरे। अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नगरी पार्टीले विश्राम नलिने उद्घोष गर्दै संगठन विस्तारसँगै आन्दोलनमा होमिन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे। भ्रष्टाचार, बेरोजगारी समस्या, नियमित रुपमा बढ्दै गएको धर्म परिवर्तनको विरोध तथा सनातन हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्रको पुनःस्थापनाको माग राखी आन्दोलनको शंखघोष गरेको राप्रपाले आगामी पौष १७ गते काठमाडौंमा वृहद् शक्ति प्रदर्शन गर्ने बताएको छ।
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update