देशको संविधानले नै आलंकारिक र संवैधानिक साझा संस्थाको रुपमा परिकल्पना गरेको राष्ट्रपति कार्यालयका कर्मचारीले कुनै पार्टीको सचिवालय कर्मचारी सरह क्रियाकलाप गरेकोमा चौतर्फी आलोचना भइरहेकै बेला उक्त कार्यालयका कर्मचारी भने आफ्नो कदमको बचाउमा उत्रिन थालेका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ८३ सदस्यले संसदको विशेष अधिवेशन आव्हानको माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दर्ताका लागि पुगेका नेकपा नेता भीमबहादुर रावल र पम्फा भुसालबाट निवेदन लिएर ६ घण्टा गएव भई निवेदन दर्ता नगरेका राष्ट्रपति कार्यालयका कर्मचारीले आफ्नो विवादस्पद कदमको बचाउ गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख राजनीतिक सल्लाहकार लालबाबु यादवले राष्ट्रपति कार्यालयले नेकपा सांसदको निवेदन दर्ता नगरेर मुलुकलाई दुर्घटना हुनबाट जोगाएको दावी गरे।
गत मंगलबार सत्तारुढ नेकपाभित्र कुनै परामर्शविना प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद ऐनमा आफूखुशी नियुक्तिको सिफारिस गर्ने व्यवस्था गर्दै अध्यादेश जारी गरेका थिए।
ओलीको उक्त कदमबाट रुष्ट बनेको असन्तुष्ट पक्षले तत्काल उक्त अध्यादेश फिर्ता नलिए त्यस अध्यादेशमाथि छलफल गर्र्न संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा पुगेका थिए।
तर, रावल र भुसालबाट निवेदन लिएर हिँडेका कार्यालयका सचिव हरि पाण्डेले उनीहरुलाई ६ घण्टासम्म विना जानकारी कुराएर रित्तै फर्काइदिएका थिए।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सल्लाहकार यादवले संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ नेकपाकै ८३ जना सांसदहरुको निवेदन दर्ता नगरेर मुलुकलाई ठूलो राजनीतिक संकट र दुर्घटनाबाट बचाएको दावी गरेका हुन्।
नेकपाका ८३ जना सांसदको हस्ताक्षरसहितको निवेदन दर्ता गरेको भए मुलुकमा राजनीतिक दुर्घटना हुने थियो भन्ने यादवको दाबी छ।
तर, नेकपाकै असन्तुष्ट पक्षका नेताहरुले भने राष्ट्रपति र उनको कार्यालयले संविधानको व्यवस्था अनुसार, साझा संस्थाको नेतृत्वकर्ताका रुपमा राष्ट्रपतिले सिंगो देशको अभिभावकीय भूमिका भन्दा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको सचिवालय सदस्य जस्तो गरी पक्षपोषण गरिरहेको भन्दै आलोचना गरिरहेका छन्।
तर, यादवले राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिश अनुसार काम गरिरहेको र संविधानको दायराभित्रै रहेर काम गरेको दाबी गरे।
राष्ट्रपतिलाई दलका नेताहरु भेट्न जानु नौलो कुरा नभएको भन्दै उहाले यसलाई तर्क बितर्कमा व्याख्या गर्न नहुने उहाको भनाई छ ।
यादवले अहिलेको संविधान लामो समयको संघर्ष र बलिदानीबाट आएको सुनाउँदै यसको रक्षाको लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय