प्रधानमन्त्री केपी शर्मा ओलीको एकतर्फी निर्णयबाट विभाजनको संघारमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नयाँ नाटक सुरु भएको छ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओेलीले सोमबारकै मितिमा केन्द्रीय कमिटीमा ४४७ बाहेक ५५६ नयाँ सदस्यहरुलाई मनोनयन गरेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएका छन्।
अहिले कायम रहेको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी बनाइएको ओलीले जानकारी दिए। रिक्त रहेका १९६ जना पछि थपिने बताइएको छ।
साथै उनले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्र मन्त्री प्रदिप ज्ञावालीलाई पनयाा प्रवक्ताको जिम्मेवारी दिएका छन्।
द्वितीय अध्यक्ष पुष्पकमल दाहालसहित माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका बहुमत सचिवालय, स्थायी कमिटीसँगै केन्द्रीय कमिटी सदस्यहरुले ओलीको कदमविरुद्ध रणनीति तय गर्ने तयारी गरिरहेकै बेला ओलीले एक कदम अगाडि बढेर पार्टीको महाधिवेशन ११ महिनाभित्र गर्ने गरी कमिटी विस्तार गरेका हुन्।
उनले अहिलेसम्म पार्टी विधिवत रूपमा विभाजित नभएकाे र आफू विभाजनकाे पक्षमा नभएकाे बताउँदै तर, नयाँ पार्टी निर्माणकाे अभियानमा रहेकाे बताए।
आजको बैठकमा सोमबार मनोनित गरेका केन्द्रीय कमिटी सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ दिलाएका थिए।
उता असन्तुष्ट पक्षका दाहालसहितका नेताहरुले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुलाई बबरमहलस्थित कार्की व्याङ्केटमा अपरान्ह १ बजेका लागि बैठकमा बोलाएका छन्। उक्त बैठकले ओली लगायतका केही नेतालाई अनुशासनको कारबाही गर्ने तयारी गरिरहेको स्रोतले बतायो।
ओलीले आफू र दाहालबीच यसअवधिमा कुनै शक्तिले पनि नमिलाएपछि निर्वाचनले मिलाउछ कि भनेर निर्वाचनमा जाउँ भन्दा कसले हालेको व्याट्री र पम्पले चलिरहेका छन् आफूलाई थाहा नभएको बताए।
आफूलाई पार्टी नेतृत्वबाट हटाउने योजनाबारे चर्चा गर्दै उनले दाहाल पक्षभन्दा आफू १० वर्ष अघि सदस्यता लिएर अनेकौँ यात्रा पार गरेर आएको बताए।
‘प्रचण्डले पार्टीबाट मात्रै निकाल्छन् कि? कहाँ कहाँबाट निकाल्छन् कि? उनका घरबाट पनि निकाल्छन् कि? अन्त कहाँ कहाँबाट निकाल्छन् त्यो उनको कुरा हो। हामी एउटा आन्दोलनमा छौँ, हाम्रा उद्देश्यहरु प्राप्तिको यात्रामा छौ,’ उनले भने।
कुनै समय अध्यक्ष दाहालका निकटस्थ नेताका रुपमा परिचित टोपबहादुर रायमाझीले पनि ओलीको कदमलाई साथ दिँदै उक्त कार्यक्रममा स्वागत भाषण गरेका थिए।
साथै ओली पक्षका सदस्यहरुको बैठकले पार्टीको महाधिवेशन आगामी वर्षको मंसिरमा सम्पन्न गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ।
मंगलबार बालुवाटारमा बसेको सो समूहको बैठकले पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो।
यसअघि पार्टीभित्र बढेको आन्तरिक द्वन्द्ध समाधान गर्ने क्रममा गत माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले ०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय