प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध अनुशासनको कारबाहीको तयारी थालिरहेका असन्तुष्ट पक्षका नेता एवं द्वितीय अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी अध्यक्षसँगै साधारण सदस्यताबाटै निस्कासन गरेको स्रोतले बतायो।
पार्टी र सरकारको नेतृत्वविरुद्ध उत्रिएका दाहाललाई ओलीले आफ्नो विरुद्ध अनुशासनको कारबाहीको कैँची चलाउनु अघि नै दुई÷तीन दिनअघिकै मितिमा पार्टी सदस्यता समेत नरहनेगरी निस्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाइसकेको स्रोतको दाबी छ।
पछिल्लो समय पार्टी र संसदीय दलमा अल्पमतमा पर्दैगएर समस्यामा परेका ओलीले एकाएक प्रतिनिधि सभा भंग गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि असन्तुष्ट पक्षमा रहेका बहुमत स्थायी कमिटी सदस्य तथा केन्द्रीय कमिटीबाट ओलीलाई अनुशासनको कारबाही गर्ने तयारीमा दाहाल पक्ष रहेको थियो।
यसैका लागि आजै अपरान्ह बबरमहलस्थित एक पार्टी प्यालेसमा आफ्नो पक्षमा रहेका केन्द्रीय कमिटी सदस्यहरुलाई बैठकमा बोलाएका द्वितीय अध्यक्षले कुनै औपचारिक निर्णय लिनु अघि नै उनलाई पार्टीबाट निस्कासन गरेको निर्णयसहितको पत्र ओलीले निर्र्वाचन आयोगमा यसअघि नै पठाइसकेको बताइएको छ।
यसले नेकपाभित्रको आन्तरिक द्वन्द्धलाई थप विवादको उत्कर्षमा पु्र्याउने भएको छ।
यसैबीच मंगलबार आफ्नो पक्षका केही पुराना केन्द्रीय सदस्यका अतिरिक्त थपिएका ५५६ नयाँ सदस्यहरुलाई सम्बोधन गर्ने क्रममा ओलीले दाहाल लगायतका नेताहरुले पार्टी छोडेको भन्ने संकेत दिँदै यसले पार्टीमा कुनै असर नपर्ने अभिव्यक्ति दिएका थिए।
महाकाली सन्धीको विषयमा दुई दशकअघि तत्कालिन नेकपा एमाले विभाजित भएपछि पार्टीबाट अलग्गिएका वामदेव गौतम लगायतको समूहको वर्हिगमनपछि संचार माध्यममा दिएकै अभिव्यक्ति ओलीले आज पनि दोहोर्याएका छन्।
वामदेव लगायतका नेताहरु एमालेबाट विभाजित भएर माले गठन गरेपछि निर्वाचनमा असर पर्ला कि भन्ने प्रश्नको जवाफमा त्यतिबेला दिएकै जवाफ आज पनि दोहोर्याउँदै भने, ‘पिलो निचोरेर फाल्दैमा शरिरको तौल घट्दैन।’
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय