प्रतिनिधि सभा विघटनको विषयलाई लिएर नेपाली कांग्रेसभित्र तिब्र मतान्तर हुने स्थिति उत्पन्न भएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न द्वन्द्धको चपेटामा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन गर्दै वैशाखमा मध्यावधि निर्वाचनको घोषणा गराएपछि उत्पन्न नयाँ परिस्थितिबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टी नेताहरुबीच फरक फरक धारणा आएको छ।
सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनक्रमको विषयमा छलफलमा भाग लिएर आफ्नो धारणा राख्न समय दिएपछि पार्टी नेता रामचन्द्र पौडेलले आफूलाई दूरदृष्टि भएको राजनेताको रुपमा र सभापति देउवा तत्कालको नाफा घाटामा केन्द्रित भएको व्यक्तिको रुपमा चित्रण गर्ने कोशिश गरे।
बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार, नेता पौडेलले प्रधानमन्त्री ओलीले लिएको कदम असंवैधानिक, आलोकतान्त्रिक भन्दै संसद विघटन गरेर ओलीले संसदमात्र नभई संविधानविरुद्ध नै षडयन्त्र गरेको आरोप लगाएका थिए।
पौडेलले २०औं शताब्दीमा अमेरिका र रुसलाई संसारको मालिक भनिएजस्तै २१औं शताब्दीमा चीन र भारत नयाँ शक्तिको रुपमा उदाइरहेको अवस्थामा ओलीले गरेको षडयन्त्रबारे कांग्रेसको भूमिका के हुने भन्ने धारणा प्रष्ट हुनु पर्नेमा जोड दिए।
विगतमा दरबारले प्रजातन्त्रमाथि कुदृष्टि लगाउर माओवादीको उदय भएको भन्ने प्रसंगमा निर्मल निवास नै माओवादीको परमधाम भनेको र त्यसपछिका दिनमा पार्टी गणतन्त्रको पक्षमा उभिएको बताएका थिए।
राष्ट्रको स्थायित्वमा कांग्रेस उभिनु पर्ने बताउँदै उनले सत्तामात्रै ठूलो कुरा नभएको भन्दै देउवाप्रति कटाक्ष गरेका थिए। साथै
उनले राजनेताले दूरगामी र दूरदर्शी विचार लिएर आफूले सैद्धान्तिक रुपमा संविधानको भावना, जनभावना अनुसार पनि मध्यावधिमा जाने कुरा उचित नभएको भन्दै विघटित संसद
पुनस्थापनाको निम्ति नेकपाको असन्तुष्ट पक्षसँग मिलेर आन्दोलनमा जानु पर्नेमा जोड दिएको एक नेताले बताए।
साथै उनले ओलीले संसद विघटनदेखि अनगिन्त अध्यादेशदेखि थुप्रै गल्ती गरेको भन्दै त्यो अपराधको दण्ड दिन पनि आन्दोलनमा जान पर्ने बताएका थिए।
त्यसअघि सभापति देउवाले सदस्यहरुलाई बोल्न समय दिनुसाथ नेता महेश आचार्यले पौडेलको भन्दा फरक विचार राखे।
आचार्यले अहिलेको परिस्थिति प्रधानमन्त्री ओलीको कारणले मात्रै नभई सिंगो नेकपा र त्यसको नेतृत्वबाट भएको बताउँदै उनीहरुले विगत तीन वर्ष जननिर्वाचित संसदलाई नेकपा र सरकारको लाचार छाया बनाउने कार्य गरेको आरोप लगाए।
त्यसको उदाहरणका रुपमा सुरुदेखि संविधानको प्रावधान अनुसार उपसभामुख निर्वाचन नगराउने, संसदीय समितिलाई सरकारको लाचार छाया बनाउनेदेखि विधेयक बनाउने र पारित गर्ने विषयमा वपक्षी दलको भूमिकालाई गौण बनाउने मात्र होइन, आर्थिक स्वेतपत्र जारी गर्ने नाममा विगतको सरकारका तथ्य र तथ्याङ्क तोडमोड गर्ने कार्य गरेको आरोप लगाएका थिए।
संवैधानिक परिषदमा प्रतिपक्ष दलको भूमिका सिध्याउने विषयदेखि जनतालाई कोरोना महामारीको समयमा उपचार त दिएन नै कोरानाबाट मरेका व्यक्तिको मर्यादित अन्त्यष्टि समेत गर्न नदिएको तर, नेकपाले संविधान र कानून बमोजिम दलको नेता परिवर्तन गर्ने भन्दा सत्ता स्वार्थको मोलमोलाई हतियार बनाएको आरोप लगाए।
पुस ५ गतेलाई कालो दिनको उपमा दिँदै अहिलेसम्म पनि सत्तामा रहेको अथवा बाहिर रहेका कुनै पनि कम्युनिष्ट नेता वा घटक लोकतन्त्रप्रति प्रतिबद्ध हुन नसकेको बताउँद कुनै एउटा घटकसँग मिलेर आन्दोलनमा जाने कुरा सोच्न नसकिने बताए।
लोकतन्त्र र संविधानको रक्षार्थ आन्दोलनमा जानेदेखि कम्युनिष्टहरुले गरेको गल्तीहरु लिएर जनतामाझ चुनावी तयारीमा जानु पर्नेमा जोड दिएका थिए।
यसैगरी नेता नारायण खड्काले आन्दोलनमा जाने हो भने त्यो आन्दोलनको लक्ष्य र उपलब्धि के हो भन्नेदेखि कसको विरुद्ध आन्दोलन गर्ने भन्नेबारे स्पष्ट नभई आन्दोलनमा जान कुराको अर्थ नभएको बताएका थिए।
अहिले विघटनको विषय अदालतमा गएको बताउँदै अदालतको आदेश आएपछि कम्युनिष्टहरुको असफलताको मुद्दा लिएर चुनावमा जाने तयारीमा बस्न पर्नेमा जोड दिएका थिए।
तर, कांग्रेस नेता एनपी साउदले पार्टीले मध्यावधि निर्वाचनलाई असंवैधानिक र अलोकतान्त्रिक भनिसकेको अवस्थामा यसबारे अदालतमा मुद्दा परिसकेकोले अदालतको आदेश आएपछि त्यसलाई मानेर पार्टी पंक्तिलाई चुनावका लागि तयार रहन आव्हान गर्नु पर्ने बताए।
कम्युनिष्टहरुबाट विगतमा कहिले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्ने विषयमा, पछि रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्ने निर्वाचनमा १७ पटक र गत निर्वाचन पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन घोषणा गरेपछि कम्युनिष्टले धोका दिँदै विश्वासघात गरिसकेको अवस्थामा कांग्रेसले आफ्नो रणनीति आफै तय गरेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए।
अदालतले निरुपण गर्नु पर्ने विचाराधिन विषयमा सडक विरोध गर्ने कुराले अदालतको अवहेलना हुन सक्ने बताउँदै निर्वाचनकै विषयमा केन्द्रीत हुन पनि जोड दिएका थिए।
संसदमा कांग्रेसको उपस्थिति २५ प्रतिशत भन्दा कम रहेको अवस्थामा जितेका सदस्यले पनि महाभारतकै युद्ध जिते सरह भएपनि पार्टीको बृहत्तर हितका लागि चुनाव जित्नु पर्ने कुरा ध्यानमा राखेर अहिले आत्तिने भन्दा चुनावमै जाँदा उपयुक्त हुने बताएका थिए।
साथै उनले अहिलेको अवस्थामा संसद पुनस्थापित भएमा विभाजित कम्युनिष्टमध्ये एउटा पक्षले मधेसी दलसँग मिलेर सरकार बनाउँदा अर्को घटक विपक्षमा बस्दा कांग्रेस तेस्रो स्थानमा पुगेर अझ दयनिय स्थितिमा पुग्न सक्ने खतराबारे सचेत रहने सुझाव पनि दिएका थिए।
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय