नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हठात प्रतिनिधि सभाको विघटन गरिदिएपछि त्यसको प्रत्यक्ष असर नेपाली कांग्रेसभित्र पर्न थालेको छ।
तीन वर्ष अघि अनेकौँ आकर्षक मुद्दा उठाएर जनताबाट अत्याधिक बहुमत पाएर सत्ताको नेतृत्व लिएका ओलीले पार्टीभित्रको आन्तरिक विवादको चपेटामा परेपछि एकाएक संसद विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे छलफलका लागि बोलाइएको कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुबीच मत बाभिएको हो।
संसद विघटन लगत्तै बसेको वर्तमान तथा पूर्व पधाधिकारी बैठकले संसद विघटनको सिफारिस अलोकतान्त्रिक, संविधानको मर्म र जनभावना विपरितको कदमको रुपमा लिएको कांग्रेस केन्द्रीय समितिमा संसद पुनस्थापनाको माग लिएर सडक आन्दोलनमा जाने कि नेकपाको संविधान विरोधी कदमसँगै लोकतन्त्र र जनविरोधी कदमको मुद्दा लिएर निर्वाचन जाने भन्नेबारे मत बाझिएको छ।
विशेषगरी पार्टी नेता रामचन्द्र पौडेलले ओलीको कदम संविधान विरोधी कदमले संविधान र लोकतन्त्रको मर्ममाथि आक्रमण गरेको भन्दै त्यसको रक्षार्थ कांग्रेसले नेकपाको असन्तुष्ट पक्षका नेता पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षसँग मिलेर तत्काल सडक आन्दोलनमा जान र संसद पुनस्थापना गराउन दबाब श्रृजना गर्नु पर्ने विचार राखेका थिए।
पौडेलकै विचारसँग मिल्दोजुल्दो गरी बुधबारको बैठकमा नेता गगनकुमार थापाले पनि तत्काल सडक आन्दोलनमा जाने निर्णय पार्टीले गर्नु पर्ने दबाब दिएका थिए।
उनले पदाधिकारी बैठकले नै ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनिसकेपछि उक्त कदमविरुद्ध सडक आन्दोलनमा जाने कुरामा किन खुट्टा कमाउने भनि प्रश्न राखेका थिए।
पार्टीभित्रै सभापति शेरबहादुर देउवा लगायतका कतिपय नेताहरुले संसद विघटनको विषय सर्वोच्च अदालतमा र नेकपा विभाजनको विषय निर्वाचन आयोगमा गएको अवस्थामा अदालत र आयोगको आदेश हेरेर नेकपा विभाजित भएको अवस्थामा मध्यावधि निर्वाचनतर्फ पार्टीका गतिविधि केन्द्रीत गर्न जोड दिएको विषयमा नेता थापाले विरोध जनाएका थिए।
‘ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनिसकेपछि कांग्रेसले अदालत र निर्वाचन आयोगले के भन्छ भनि पर्खिने होइन, कांग्रेसले के भन्छ भन्ने सन्देश दिनु पर्छ,’ थापाले बैठकमा भनेका थिए।
साथै उनले सत्तारुढ नेकपा विभाजित भइसकेको भन्दै विचार राख्दैगर्दा सभापति देउवाले बिचमै रोकेर अहिलेसम्म नेकपा औपचारिक रुपमा विभाजित नभएको बताएका थिए।
त्यहीबीचमा नेता पौडेलले आज पनि तत्काल आन्दोलनमा जान विरोधका कार्यक्रम लिएर सडकमा जानु पर्ने भन्दै कुरा राखेपछि सभापति देउवाले पुस १६ गतेको मेलमिलाप दिवसको दिनमै कार्यक्रम गरे भयो नि त भनेका थिए।
मेलमिलाप दिवसको दिनमा सडकमा विरोधका कार्यक्रम लिएर जाने कुरा उपयुक्त हुन सक्दैन भनि पौडेल, गोविन्द भट्टराई, गुरु घिमिरे लगायतले सुझाव राख्दैगर्दा महामन्त्री पूर्णबहादुर खड्काले सभापति देउवा र नेता पौडेल बसेर सल्लाहमा अघि बढ्न सुझाव दिए।
त्यसबीचमा नेताहरुले आन्तरिक परामर्श गर्दैगर्दा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै पार्टीले १६ गते देशव्यापी विरोधको कार्यक्रम गर्ने निर्णय गरेको जानकारी दिए।
तर, सभापति देउवा र अन्य नेताहरुले १६ गतेको मेलमिलाप दिवसमा अरु कार्यक्रम गरेपनि विरोधमा आन्दोलनको कार्यक्रम नगर्ने भनि निर्णय गरेपछि प्रवक्त शर्माले आफ्नो भनाई सच्याएका थिए।
यसअघि आजको बैठकमा बोल्ने क्रममा नेता रामशरण महत र बलबहादुर केसीको मिश्रीत धारणा आएको एक नेताले बताए।
केसीले अहिलेको अवस्थामा चुनावी तयारीमा जानु नै पार्टीको हितमा रहेको भएपनि आन्दोलनमा जाँदा पनि रणनीतिक रुपमा एक्लै जानु पर्नेमा जोड दिएका थिए।
साथै उनले अहिले नेकपाको यो वा त्यो पक्षलाई राम्रो वा नराम्रो भनेर कुनै पक्षसँग मिलेर आन्दोलनमा जाने भन्दा दुबै पक्षले लोकतन्त्र र संविधानमाथि गरेको आक्रमणलाई मुद्दा बनाएर जानु पर्ने बताएका थिए।
त्यसैगरी नेता महतले आन्दोलन वा चुनाव जुनसुकै कुरामा जाँदा पनि पार्टीले एक्लै जान र चुनावको विषयमा जनतामाझ बढी केन्द्रीत हुन सुझाव दिएका थिए।
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय