नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधान, लोकतन्त्र र मुलुकलाई संकटपूर्ण अवस्थामा धकेल्ने दुश्साहस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो अपराधलाई लुकाउन जसलाई जे मन लाग्यो त्यही बोल्न थालेको आरोप लगाएका छन्।
नेता पौडेलले ओलीले हालै गरेको संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा असंवैधानिक र अलोकतान्त्रिक भन्दै सडक आन्दोलनबाटै संसदको पुनस्थापना गराउनु पर्ने अडान पार्टीभित्र लिँदै आएकोमा उनीप्रति प्रधानमन्त्री ओलीले बुधबार एक अन्तरवार्तामा व्यक्त गरेको अभिव्यक्तिको प्रतिउत्तरमा यस्तो आरोप लगाएका हुन्।
पार्टी मुख्यालय सानेपामा बिहिबार पत्रकारहरुसँग ओलीले आफूलाई चुनाव हार्ने डरले पुनस्थापनाको कुरा गरेको भन्ने भनाइको प्रतिवाद गर्दै नेता पौडेलले भने, ‘खै अब प्रधानमन्त्रीजीले के भन्नु भयो मैले राम्रोसँग डाइरेक्ट सुनेको पनि छैन। तर, उहाँले मेराबारेमा के के भन्नु भयो भन्ने सूचना साथीहरुबाट पाएको छु। तर, उहाँले विना आधार प्रतिनिधि सभा विघटन गर्नु भयो। संविधानको कुनै धाराले पनि नदिएको र नभएको अधिकारलाई प्रयोग गरेँ भनेर राष्टपतिलाई मनाएर प्रतिनिधि सभा विघटन गराउनु भयो।’
पौडेलले जनताको यत्रो अभिमत पाएर पनि ओलीले त्यो जनमतको घोर अपमान गर्नुका साथै संविधानको घोर अपमान र जबरजस्ती गरेको आरोप लगाए।
आफ्ना बारेमा दिएको अभिव्यक्तिबारे नेता पौडेलले भने, ‘उहाँले लोकतन्त्रलाई नै संकटतर्फ धकेल्ने दुश्साहस गर्नु भएको छ। यसलाई ढाकछोप गर्न उहाँले जसलाई जे जे भन्न मन लाग्छ त्यही भन्नु हुन्छ।’
लोकतन्त्रका लागि आफूहरुले ७० वर्षदेखि लडेर देशमा जुन संविधान आएको छ त्यो राष्ट्रिय सहमतिको दस्तावेज भएको बताउँदै त्यसले संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशीता र बहुलबादमा आधारित संसदीय प्रजातान्त्रिक प्रणालीको व्यवस्था गरेको उनले बताए।
‘यो संविधानलाई नै नोक्सान पार्ने खालको काम आज उहाँ (ओली)ले गर्नु भएको छ। त्यसैले आफ्नो अपराध लुकाउनका लागि उहाँ जे मन लाग्यो बोलेर बर्बराउनु हुन्छ,’ उनले भने।
गत निर्वाचनमा तत्कालिन नेकपा एमालेका उम्मेदवारसँग पराजित भएका पौडेलको विषयमा ओलीले टेलिभिजनमार्फत फेरि पनि चुनाव हार्ने डरले चुनावमा जान नचाहेको भन्ने अभिव्यक्तिको प्रतिवाद गर्दै पौडेलले भने, ‘जहाँसम्म मेरो कुरा हो, मत अहिले पनि के भन्न चाहन्छु भने, म त तनहुँ जिल्लाबाट पाँच पाँच चोटी चुनाव जितेर आएको मान्छे हुँ। तर, गएको निर्वाचनमा को को मिलाएर के के षडयन्त्र गरेर कसरी गर्नु भयो उहाँले र कस्ता कस्ता प्रपञ्चहरु गर्नु भयो त्यसको विश्लेषण जरुरी छ।’
उनले थप्दै भने, ‘तर, म अहिले पनि भन्छु, केपी ओलीजी तपाई पनि आउनुहोस् त्यही लडौँ। चुनाव लडौँ आउनुहोस् कस्तो हुन्छ। अहिले आफ्नो गल्तीलाई ढाकछोप गर्न अन्त÷अन्त देखाएर व्यक्ति विशेषमा दोष लगाउने कुरा छैन।’
साथै पौडेलले आफू व्यक्ति विशेषको फाइदा र नोक्सान भन्दा पनि अहिले लोकतन्त्रमाथि आएको संकटलाई सोचेर यसबाट देश, प्रजातन्त्र र संविधानलाई कसरी बचाउने भन्ने कुरामा चिन्तित भएको बताउँदै यसका लागि जीवनभर लड्दै आएका र फेरि पनि लडिरहने बताए।
संसद पुनस्थापनको मुद्दामा नेकपाको असन्तुष्ट पक्षका नेता पुष्पकमल दाहाल र माधवकुमार नेपालसँगको भेटपछि राष्ट्रपतिमा लोभिएर संसद पुनस्थापनाको कुरा गरेको भन्ने आरोपको पनि उनले खण्डन गरे।
उनले भने, ‘त्यो छैन। त्यो मैले कल्पना पनि गरेको छैन र त्यो कुरा कसैले मसँग भनेको पनि छैन। म कुनै पदको आकांक्षा लिएर यस कार्यमा लागेको होइन, जहिले पनि सिद्धान्तको लागि लड्ने मान्छु हुँ। अहिले पनि सिद्धान्तकै लागि हो।’
पौडेलले संसद विघटनको विरोधमा पार्टीले पुस १३ गते देशका सबै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको बताउँदै सबै निर्वाचन क्षेत्रका नेता, कार्यकर्ताले उक्त विरोध कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्न आग्रह गरे।
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय