हिमाल दैनिक
संसद् विघटनविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा सुनुवाइ आज हुँदैछ। बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद् विघटनविरुद्ध परेका १३ वटै रिट निवेदन संवैधानिक इजलासमा पेश गर्न आदेश जारी गरेपछि उक्त विषय शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो । आजको इजलासमा इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, मीरा खड्का र विशम्भर श्रेष्ठ रहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का निवर्तमान सांसद देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले मङ्गलबार रिट निवेदन दायर गरेका थिए । त्यसैगरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, समृत खरेल, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, कमलबहादुर खत्री, मनिराम उपाध्याय, अमिता गौतम , दीपक राई र तुलसी सिंखडाले रिट निवेदन दिएका थिए । प्रधानमन्त्रीले गरेको सिफारिस र सोका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिसका आधारमा भएगरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध आजसम्म १३ रिट निवेदन दर्ता भएका थिए । तीमध्ये १२ वटा नियमित इजलासमा दर्ता भएका थिए । ती सबै निवेदनमा शुक्रबार सुनुवाइ हुने तय भएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update