नेपाली कांग्रेसका नेता मीनेन्द्रप्रसाद रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमबाट मुलुकमा उत्पन्न हुन सक्ने संवैधानिक रिक्तताको खतराबीच पनि संविधान र लोकतन्त्रको रक्षार्थ कांग्रेसले गम्भीरतापूर्वक आफ्नै भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका छन्।
पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार बोल्ने क्रममा नेता रिजालले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार नै नदिएको भन्दै ओलीको गैरसंवैधानिक कदमलाई कुनै पनि कोणबाट सही मान्न नसकिने बताए।
पार्टीभित्र एक पक्षले संसद पुनस्र्थापनाको माग राख्दै सडक आन्दोलनमा जानु पर्ने जोड दिँदै आइरहेको बेला नेता रिजालले संविधानको प्रावधान अनुसार संसदको पुनस्र्थापनाको विकल्प नदेखिएको भएपनि वर्तमान राजनीतिक स्थितिले परिणाम त्यो दिशामा जान्छ भन्ने सुनिश्चितता भइनसकेको उनको भनाई रहेको थियो।
संसद विघटनको मुद्दा संसदमा विचाराधिन रहेको अवस्थामा नेता रिजालले अदालतको निर्णय नहुँदासम्म ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै उक्त असंवैधानिक कदमलाई अदालतले स्ट्याम्प लगाउने कार्य गरिनु हुँदै भनेर कांग्रेसले आफ्ना गतिविधिहरु अगाडि बढाउन सुझाव दिएका थिए।
एकातिर सर्वोच्च अदालतबाट विघटित संसदको पुनस्र्थापना हुने हो वा होइन भन्ने अन्यौलता कायमै रहेको स्थितिमा पुनस्र्थापना नहुँदाको अवस्थामा सरकारले घोषणा गरेकै मिति वैशाखमा निर्वाचन पनि हुनेसक्ने कुरामा आशंका व्यक्त गरेका थिए।
‘समयमै चुनाव हुनका लागि सबैको मन ठिक भएकै अवस्थामा पनि कोरोनाका कारण हुन सक्छ वा सक्दैन भन्ने अन्यौलता कायमै रहेको स्थिति छ। यस्तो अवस्थामा संसदको चुनाव होला वा नहोला तर, हामीले हाम्रो पार्टीको १४औं महाधिवेशनको तयारी गर्ने र महाधिवेशन समयमै गर्ने दिशामा आफ्ना गतिविधि केन्द्रित गरौँ,’ रिजालले भनेको भनाई उल्लेख गर्दै एक नेताले भने।
रिजालले एकातिर संसद विघटन गर्ने अर्को तर्फ ताजा जनादेशका लागि निर्वाचित समयमा निर्वाचन पनि नहुने स्थिति आयो भने देशमा संवैधानिक रिक्तता आउन सक्ने खतरातर्फ सचेत रहन पनि आग्रह गरेका थिए।
‘कदाचित संवैधानिक रिक्तता आयो भने त्यो अवस्थामा संविधान र लोकतन्त्र जोगाएर हिड्ने कठाइपूर्ण चुनौति हाम्रा सामू आउन सक्छ। हामी आफैले पनि घोषणा गरेको चुनाव समेत गर्न नसकेको तितो अनुभव हामीसँगै छ। त्यसैले यो चुनौतिको सामना अत्यन्त सगज र सचेत मनले पार लगाउने गरी पार्टीले आफ्ना गतिविधि अघि बढाउनु पर्छ,’ उनले भनेका थिए।
पछिल्लो समय सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच बैठकमा बेलाबखत एकअर्काप्रति गर्दै आएको छेडखानीले बाहिर आपसमा नमिलेर झगडा गरेको सन्देश गइरहेको भन्दै तर, आफूलाई त्यस्तो नलागेको बताएका थिए। ‘मलाई त तपाई दुई जना नेताहरुबीच झगडा नै छ जस्तो लागेको छैन। यदि छ नै भने पनि तपाईहरु दुबै जान बसेर आपसमा जे कुरा नमिलेको छलफलबाट मिलाउनुहोस्,’ रिजालले दुई नेतालाई सुझाव दिँदै भनेका थिए।
आजको बैठकमा नेताहरु ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, सरिता प्रसाई र देवेन्द्रराज कँडेलले पनि विचार व्यक्त गरेका थिए।
कांग्रेसको अर्को बैठक १३ गते १६५ क्षेत्रमा संसद विघटनको विरोधमा प्रदर्शन गरेपछि पुस १९ गते पुनः बस्नेछ।
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय