हिमाल दैनिक
संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध प्रदर्शनमा उत्रन देउवाको अपिल
Deuba
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भएको संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै उक्त कदमविरुद्ध विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम पुस १३ गते संसद विघटनको विरुद्ध १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको आयोजना गरेको बताउँदै सभापति देउवाले उक्त प्रदर्शनमा सक्रिय सहभागिता जनाउँन सबैमा सार्वजनिक अपिल गरेका हुन्। पार्टीभित्रको असन्तुष्ट पक्षले संसद पुनस्र्थापनाको माग गर्दै तत्काल सडक आन्दोलनमा उत्रन दबाब दिँदै आएपनि देउवाले विघटनको विषय अदालतमा पुगेको भन्दै अदालतको आदेश कुर्न गरेको आग्रहलाई ओलीको कदमको पक्षपोषणका रुपमा आरोप लगाइरहेकै बेला सभापति देउवाले त्यसलाई चिर्दै देशव्यापी विरोध प्रदर्शन सफल बनाउन आग्रह गरेका हुन्। आफूमाथि लगाइएको आरोपलाई असत्य भएको सन्देश दिने क्रममा देउवाले भनेका छन्, ‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं। संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ।’ साथै देउवाले जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफू स्वयंले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले आफ्नो पार्टीकोे सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित रहेको बताएका छन्। शनिबार देउवाले जारी गरेको विज्ञप्तिमा उनले पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेका हुन्।
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update