हिमाल दैनिक
नेकपाको विवाद मिलाउन राजदूतले नसकेपछि चिनियाँ उपमन्त्रीसहितको टोली काठमाडौं उत्रियो
RoS_ktM-IMG_2218(1) (1)
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वबिच आन्तरिक द्वन्द्ध चर्किँदै गएपछि विभाजन संघारमा पुगेपछि उत्तरी छिमेकी राष्ट्र चीन र चीनको सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन द्वितीय अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुबीचको आपसी टकराबपछि प्रतिनिधि सभाको विघटन गराएका ओलीले पार्टी पनि बेग्लाबेग्लै बनाएर अघि बढ्ने कार्यलाई तिब्रता दिँइरहेकै बेला चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा एक टोली आइबार काठमाडौं आइपुगेको हो। चार सदस्यीय चिनियाँ टोलीको नेतृत्व गर्दै उपमन्त्री गुओ आजै अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। नेपालमा संसदको विघटनसँगै नेकपाभित्रको विभाजन प्रक्रिया उत्कर्षमा पुगिरहेकै बेला चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डल नेपाल आउनुको औपचारिक कारण अझै खुलाइएको छैन। उक्त टोलीले सरकारी उच्च नेतृत्वका अतिरिक्त हालै विभाजित हुन पुगेका नेकपाका नेताद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ। संविधान सभाले २०७२ सालमा नयाँ संविधान जारी गरेलगत्तै गठन भएको तत्कालिन नेकपा एमाले र माओवादीबीचको सत्तागठबन्धन २०७३ वैशाखमा भत्किने स्थितिमा पुग्दादेखि गत आम निर्वाचनपूर्व दुई दलबीच चुनावी गठबन्धन र एकीकरण प्रक्रियामा चीनको विशेष भूमिका रहँदैआएको छ। त्यसमा पनि गत वर्षको पुस÷माघदेखि चरम उत्कर्षतिर बढ्दै गएको नेकपाभित्रको आन्तरिक विवाद मिलाउन नेपालस्थित चिनियाँ राजदूतले विशेष पहल र भूमिका निर्वाह गर्दै आएपनि पछिल्लो समय संसद विघटन र पार्टी विभाजनको प्रक्रियालाई रोक्न भने राजदूतको पहल सार्थक हुन सकेको थिएन। फलस्वरुप दुई पार्र्टी र दुई कित्तामा विभाजित नेकपाभित्रको शक्ति संघर्षले केन्द्रमा संघीय सरकारदेखि प्रदेश तहका सरकारहरुविरुद्ध समेत धमाधम नेकपाकै अर्को पक्षले अविश्वास प्रस्ताव दर्ता गर्ने क्रम सुरु भएकै बेला चिनियाँ प्रतिनिधि मण्डलको नेपाल आगमनलाई विशेष चासोका रुपमा लिन थालिएको छ। विगत ७ दशक यताका राजनीतिक उतार चढाव र घटनाक्रममा गोप्य र खुलम्खुल्ला रुपमा दक्षिणको छिमेकी राष्ट्र भारतीय संस्थापन पक्षको प्रत्यक्ष भूमिका रहँदै आएको कुटनीतिक क्षेत्रसँगै आम जनताले पनि भोग्दै र व्यहोर्दै आइरहेका छन्। तर, पछिल्लो समय नेपालको आन्तरिक राजनीतिमा उत्तरी छिमेकी राष्ट्र चीनले पनि माइक्रो म्यानेजमेन्टमा विशेष सक्रियता देखाउँदै र सोही अनुरुपको भूमिका खोज्दै आइरहेको छ। यसरी नेपालको आन्तरिक मामिलामा खुल्ला रुपमा विदेशीहरुको संलग्नता हुने प्रक्रियाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आपत्ति प्रकट गरेका छन्। आइतबार बिहान थापाले आफ्नो ट्वीटरमार्फत भनेका छन्, ‘नेपालको घरेलु मामिला र पार्टीहरुको आन्तरिक विषयमा उत्तर, दक्षिण र पश्चिम जताको भएपनि दबाब, प्रभाव र हस्तक्षेप स्विकार गर्नु हुँदैन। दक्षिणको आपत्तिजनक र उत्तरको ठीक भन्ने हुँदैन। नेपालको स्वाभिमान, स्वतन्त्रता र सार्वभौमिकता कमजोर पार्ने काम कसैले नगरौँ।’ https://twitter.com/KTnepal/status/1343062341336776705  
प्रकाशित मिति: शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update