हिमाल दैनिक
नेकपाका नेताहरु झगडा गर्ने, चिनियाँ कम्युनिष्ट पार्टीको बित्थैमा प्रेसर बढ्ने
PM Oli meet with Chinese delegation
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीचको आपसी द्वन्द्धका कारण लोकतान्त्रिक शासन व्यवस्था नै खतरामा परेको बेला उत्तरी छिमेकी राष्ट्र चीनको कम्युनिष्ट पार्टी र यसको नेतृत्वलाई भने नेकपाको विभाजनले टाउको दुखाएको छ। संघीय संसदको विघटनसँगै संविधान र जनभावनामाथि खेलबाड गर्दै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्र्मा ओलीले मध्यावधि निर्वाचनको घोषणा गरेसँगै दुई चिरामा विभक्त हुने क्रममा रहेको नेकपालाई कसरी एक गराई राख्ने भन्ने रणनीतिक योजना लिएर आइतबार नेपाल आइपुगेको चिनियाँ उच्च राजनीतिक प्रतिनिधि मण्डल विगत २४ घण्टा व्यस्त रहन पुग्यो। सुरुमा प्रधानमन्त्री ओलीलाई सीमा पार गरेर संविधान र पार्टी संगठनलाई तहसनहस पार्न सहयोगीको रुपमा भूमिका निर्वाह गर्दै आएको आरोप लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको चार सदस्यीय चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौको नेतृत्वमा आइपुगेको प्रतिनिधि मण्डलले आइतबार लामै समय भेटवार्ता गर्यो। त्यसपछि सोमबार बिहानै नेकपाको असन्तुष्ट पक्षका नेता पुष्पकमल दाहालसँग लामो कुराकानी गरेरका थिए। अध्यक्ष दाहालको निवास खुमलटारमा सोमबार बिहान भेटवार्ताका लागि पुगेका क्वोसँगको भेटवार्तामा आपसी हित, दुई देशबीचको समबन्ध र दुई दलबीचका विविध आयामबारे विचारविमर्श भएको दाहालको सचिवालयले जनाएको छ। उपमन्त्री क्वो तिनै चिनियाँ कम्युनिष्ट पार्टीका नेता हुन् जसले २०७४ को निर्वाचन पूर्व तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलसहितको गठबन्धन कायम गराइ दुई पार्टीबीचको एकीकरणको आधार तयार पारिदिएका थिए। यसरी नेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरण गराएर नेपालमा कम्युनिष्ट सत्तालाई बलियो बनाउने मुख्य योजनाकार क्वो अहिले आफैँले बनाइदिएको नेकपा विभाजन हुनबाट जोगाउन नेपाल आइपुगेको कतिपय कुटनीतिक जानकारहरुको विश्लेषण छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, उपमन्त्री क्वोले प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका छन्। थापाले आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेको स्टाट्समा प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधि मण्डलबीचको भेटवार्ता भनेपनि भेटवार्ताका क्रममा भएका छलफलका विषयवस्तुबारे केही उल्लेख गरेका छैनन्। नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले चार दिन नेपाल बसाइका क्रममा असन्तुष्ट पक्षका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि भेट्ने कार्यक्रम रहेको छ। पार्टी र सरकार सञ्चालनमा प्रधानमन्त्री ओली असफल भएको भन्दै चौतर्फी आलोचना भइरहेकै बेला प्रधानमन्त्री ओलीले संविधान र जनभावना विपरित अध्यादेश जारी गर्नेदेखि त्यसको विरोधमा उठेको आवाजलाई निस्तेज पार्न पुस ५ गते संसदको विघटन गर्दै वैशाखमा मध्यावधि निर्वाचनको घोषणा गराएका थिए। ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै दाहाल, नेपाल समूहका नेताहरुले उनलाई पार्टीबाट हटाएर नेकपाको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरी कार्यकर्ता माझ गएका छन्। उता ओलीले नेकपा आफ्नै नेतृत्वमा रहेको भन्दै आयोगमा सोही मुताविकको दस्तावेज पेश गर्दै समानान्तर गतिविधि अघि बढाइरहेका छन्। यसरी विभाजनको रेखा अघिबढीरहेकै बेला नेपालस्थित चिनियाँ राजदूतले त्यसलाई विगतमा जस्तो दौडधूप गरी रोक्न नसकेपछि चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो विशेष प्रतिनिधि मण्डल नेपाल पठाएको हुन सक्ने आशंका राजनीतिक विश्लेषकहरुले गरिरहेका छन्। सार्वभौमसत्ता सम्पन्न मुलुक नेपालको आन्तरिक मामिलामा विगतमा भारतबाट नांगो हस्तक्षेप हुँदैआएको भन्दै सडक र सदनमा नारावाजी गर्दै आएका कम्युनिष्ट नेता र कार्यकर्ताहरु पछिल्लो समय उत्तरको छिमेकी राष्ट्र चीनबाट सुरु भएको प्रत्यक्ष संलग्नता र हस्तक्षेपका बारेमा भने मुख खोल्ने आँट समेत गरिरहेका छैनन्।    
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update