सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक द्वन्द्धको चपेटामा संविधान र लोकतान्त्रिक शासन व्यवस्थामाथि आक्रमणको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सोमबार देशभरी नै विरोध प्रदर्शनमा उत्रिएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाको पुस ९ गतेको प्रस्तावलाई केन्द्रीय कार्यसमिति बैठकले गरेको अनुमोदन अनुसार, आज कांग्रेसले देशका १६५ निर्वाचन क्षेत्र केन्द्रीत विरोध कार्यक्रमको आयोजना गरेको हो।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुस ५ गते हठात संघीय संसद मातहतको प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा मध्यावधि निर्वाचनको घोषणा गरेपनि कांग्रेसले ओलीको उक्त कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै जनभावनामाथिको कुठाराघातको रुपमा लिएको छ।
प्रधानमन्त्री ओली र उनको पार्र्टी नेकपाले विगत तीन वर्षदेखि शासन सत्ता संचालन गर्दै आएपनि संविधान र जनभावना विपरित कार्य गर्दैआइरहेको आरोप लगाइरहेको कांग्रेसले नेकपाभित्रको शक्ति संघर्ष र ओलीको कदमले संविधान र लोेकतन्त्रमाथि प्रहार गरेको ठहर पनि गरेको छ।
उक्त कदमको विरोधमा संघीय संसदमा निर्वाचित हुने १६५ निर्वाचन क्षेत्रमा नै आज एकैचोटी कांग्रेसका नेता, कार्यकर्ताहरुले विरोध कार्यक्रम गर्दै कम्युनिष्ट पार्र्टी, यसको नेतृत्व र कम्युनिष्ट सरकार लोकतान्त्रिक शासन व्यवस्थाप्रति घातक भएको सन्देश जनतामाझ पुर्याउँदैछन्।
आजको कार्यक्रममा सभापति शेरबहादुर देउवाले भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैछन् भने बाँकी अधिकांश नेताहरु आफ्नै गृहजिल्ला र निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा सम्बोधनका लागि पुगिसकेका छन्।
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय