नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा कम्युनिष्ट घटकहरुसँग मिलेर अघि बढ्दा त्यसको नमिठो फल पाइसकेको बताउँदै अबका दिनमा कसैसँग पनि नमिलेर सबै गतिविधि र कार्यक्रमहरु एक्लै गर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन गरेपछि उक्त कदमलाई असंवैधानिक र अलोकतान्त्रिक कदमको संज्ञा दिँदै देशव्यापी विरोध कार्यक्रम आयोजना गरेको कांग्रेसका सभापति देउवाले सोमबार भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विगतको कमजोरीप्रति पछुतो व्यक्त गरेका हुन्।
‘हामीसँग कुरा गर्न अरु पार्टीका नेताहरु पनि आएका थिए। तर, अहिलेको बेलामा हामी कसैसँग मिलेर जाँदैनौँ। मिलेको फल पाइसक्यौँ। अब विरोधका कार्यक्रमहरु अघि बढाउँदा एक्लै जान्छौँ,’ सभापति देउवाले भने।
विगतमा जनआन्दोलनको सञ्चालन गर्दादेखि संविधान जारी गर्नेबेलासम्म कम्युनिष्ट घटकहरुसँग हातेमालो गर्दै आएको कांग्रेस र यसको नेतृत्वले संविधान जारी भएपछि तत्कालिन नेकपा माओवादी केन्द्रसँग मिलेर सत्ता सञ्चालन र निर्वाचनमा जाँदा सभापति देउवाले आफ्नै दलभित्रका नेता, कार्यकर्ताको चर्को आलोचना व्यहोर्नु परेकोे थियो।
कम्युनिष्ट सर्वसत्तावाद र अधिनायकवादी चरित्रको विरोधलार्ई निरन्तरता दिने बताउँदै देउवाले कोरोना भाइरसको महामारीको अवस्था हेरेर फेरिपनि पार्टीले विरोधका कार्यक्रमहरु तय गर्ने जानकारी दिए।
पार्टीभित्रैको असन्तुष्ट पक्षले नेकपाको असन्तुष्ट पक्षसँग मिलेर सडक आन्दोलन चर्काउन पार्टीभित्र दबाब दिँदै आइरहेको अवस्थामा देउवाले भक्तपुरमा पुगेर त्यसलाई ठाडै अस्विकार गरिदिएका छन्।
‘एक्लै विरोधका कार्यक्रमहरु गर्दा यसले हाम्रो शक्ति र संख्याको पनि आँकलन हुन्छ र जनतामाझ पनि हामी हाम्रो प्रष्ट अडान र धारणा बनाउँन सक्छौँ,’ भन्दै देउवाले ओलीको असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक कदमको देशभरी नै पार्टीले विरोध गरिरहेको बताए।
देउवाले संसद विघटनको मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको बताउँदै आफ्नो पार्टीले अदालतको सम्मान गर्दै आएको भन्दै पञ्चायतमा पनि अदालतको स्वतन्त्रता र निश्पक्षतामाथि विश्वास गरेकै कारण जेलमुक्त हुने गरेको बताए।
साथै उनले पञ्चायत व्यवस्थामा पनि स्वतन्त्र रहेको न्यायालयलाई कम्युनिष्टहरुले प्रभावित गरेको बताउँदै यसका बाबजूद आफूहरुले अदालतलाई धम्क्याएर, तर्साएर उसलाई प्रभावित नगर्ने बताए।
देउवाले अदालतमा विचाराधिन सबज्यूडिस केसमा यता वा उता कतै बोल्न नमिल्ने र नबोल्ने पार्टीको विगतदेखिको सिद्धान्त र परम्परा भएको भन्दै सरकारले के गर्ला तर, आफूहरु स्वतन्त्र अदालतको फैसला मान्न तयार रहेको बताए।
उनले अदालतको जस्तो सुकै निर्णय आएपनि त्यसलाई स्वीकार गर्न तयार रहन र आफ्नो पार्टी संगठनलाई गतिशील बनाउन कार्यकर्तालाई आग्रह गरे।
देउवाले कोरोना महामारीको बिचमा आफ्नो पार्टीले सभा, सम्मेलन गर्ने रहन नभए पनि बाध्यताबस सडकमा आउनु परेको बताउँदै आम जनतालाई कोरोना भ्याक्सिन नआउँदासम्म भौतिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरे।
साथै देउवाले ओलीको अप्रजातान्त्रिक कदमको विषयमा आज भएको विरोध कार्यक्रमबारे छिट्टै केन्द्रीय कार्यसमिति बैठक राखेर समिक्षा गरी आगामी विरोधका कार्यक्रम तय गर्ने र जनताको सुख, दुःखमा साथ दिँदै अघि बढ्ने बताए।
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय