नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपाको पार्टीभित्रको आन्तरिक कलह मिलाउन नसकेपछि प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको आरोप लगाएका छन्।
सोमबार नयाँ बानेश्वरमा काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको प्रदर्शनपछि विरोध सभामा बोल्दै पूर्व महामन्त्री सिंहले यस्तो आरोप लगाएका हुन्।
जनताले गत आम निर्वाचनमा प्रधानमन्त्री ओली र उनको पार्टीको चुनावी भाषणमा व्यक्त आश्वासन अनुसार पाँच वर्षका लागि दिएको म्यान्डेट अनुसार काम गर्न नसकेको भन्दै बिचैमा संसद विघटन जस्तो अलोकतान्त्रिक कदम चालेर जनताको मतको अपमान गरेको आरोप सिंहले लगाए।
प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसका विरूद्ध प्रतिरोध गर्न समेत आह्वान गरे।
उनले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सक्ने प्रावधान रहेपनि विश्वासको मत लिने आँटसमेत नगरी संसद भंग गरेर असंवैधानिक कदम चालेको दाबी गरे।
सिंहले प्रधानमन्त्री ओलीले जनताको म्यान्डेट लिन गइरहेको आश्वासन दिएपनि जनप्रतिनिधिबाटै विश्वासको मत समेत लिन सक्ने आँट नगरेको टिप्पणी गरे।
नेता सिंहले व्यवस्थापिका र न्यायपालिका आफ्नो अधिनमा राख्न सरकार उद्धत रहेको भन्दै प्रधानमन्त्री ओली शक्तिशाली देखिन खोजेर सरकारी निकायलाई समेत आफ्नो मातहतमा ल्याएको आरोप लगाए।
त्यस्तै नेता सिंहले जनताले कांंग्रेसलाई दिएको मत अनुसार कांग्रेस प्रतिपक्षमा बसेपनि संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने बताए।
उनले सरकारले भ्रष्टाचार रोक्न नसकेको र कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनमा लापरबाही गरेको आरोप समेत लगाए।
।संसद विघटनको विरोधमा प्रमुख विपक्षी कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन गरेको हो।
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय