हिमाल दैनिक
नेकपाको ‘उद्दारका’ लागि आएको चिनियाँ टोली थकाई मार्न सभापति देउवा निवासमा
Chinese team met deuba
नेपालीमा प्रचलित उखानः ‘पशुपतिको जात्रा सिध्राको व्यापार’ भने जस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनको खबरले चिन्तित भएर नेपाल आइपुगेको चिनियाँ कम्युनिष्ट पार्र्टीको उच्चस्तरिय प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गरेको छ। गत आम निर्वाचन अघि आफ्नै पहलमा दुई ठूला कम्युनिष्ट पार्टीहरुः तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल तथा लगत्तै पार्टी एकीकरणमा विशेष योगदान पुर्याएका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधि मण्डल आइतबार अपरान्ह नेपालको चार दिने भ्रमणका लागि काठमाडौं आएको थियो। उक्त टोलीले विभाजनको उत्कर्षमा पुगेको नेकपालार्ई पुनः एकताबद्ध बनाउने रणनीतिका साथ विभाजनको खेलमा पदिय मर्र्यादासँगै आफ्नो भूमिकालाई समेत बिर्सिएर संलग्न भएको आरोप लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री केपी शर्मा ओली, असन्तुष्ट पक्षका नेता पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थियो। पछिल्लो समय नेपालको आन्तरिक मामिलामा भारतले जस्तै चीनले पनि प्रत्यक्ष चासो र संलग्नता बढाउँदै गएपछि कतिपय कुटनीतिज्ञले यसप्रति गम्भीर चासो र चिन्ता व्यक्त गर्न थालेका छन्। विगत दुई दिनको नेपाल बसाइका क्रममा कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाइराख्न कम्युनिष्ट नेताहरुसँग घण्टौं वार्ता गर्दा पनि तत्काल अपेक्षाकृत सफलता नपाइसकेको अथवा परिणाम देखिन बाँकी रहेकै अवस्थामा चिनियाँ उपमन्त्रीले मंगलबार बिहान देउवाको निवासमा पुगेर सभापतिसँग पनि भेटवार्ता गरेको थियो। सभापति देउवासँगको भेटवार्ताका क्रममा उपस्थित पूर्व राजदूत तथा कुटनीतिज्ञ दिनेश भट्टराईले सभापतिसँग भएको चिनियाँ प्रतिनिधि मण्डलको भेट एक प्रकारको शिष्टाचार भेट भएको बताए। भेटका अवसरमा चिनियाँ उपमन्त्री क्वोले नेपाल आउनुअघि बेइजिङमा चीनका राष्ट्रपति सि जिनपिङसँगको भेटका क्रममा राष्ट्रपतिले सभापति देउवाको नाम लिएर गत वर्र्र्ष नेपाल भ्रमणको क्रममा भएको भेटवार्ताको स्मरणसँगै शुभकामना सन्देश दिनु भनेको कारण अहिले त्यही सन्देश दिन आएको जानकारी गराएको भट्टराईले बताए। ‘वार्ताका क्रममा नेपाल हाम्रो असल मित्र र नेपाली कांग्रेस हाम्रो राम्रो साथी हो भन्नु भयो,’ भट्टराईले देउवासँगको कुराकानीमा चिनियाँ नेताले भनेको भनाई उल्लेख गर्दै भने। यसरी कांग्रेस हाम्रो राम्रो साथी हो भन्दै गर्र्र्दा चिनियाँ राष्ट्रपतिको नेपालका सबै राजनीतिक शक्तिहरुसँग सुमधुर सम्बन्ध कायम गर्ने नीति चीनको रहेको बताउँदै कांग्रेसका तत्कालिन सभापति बी.पी. कोइरालाले नेपाल–चीन सम्बन्धमा निर्वाह गरेको भूमिका र योगदानको स्मरण समेत गरेको उनले बताए। बी.पी.को त्यही नीतिका आधारमा दुई देश र पार्टीबीचको सम्बन्ध अघि बढिरहेको विचार उनले व्यक्त गरेका थिए। नेपालको एक चीन नीतिको प्रसंगमा सभापति देउवा सरकारमा छँदा पनि त्यही आधारमा दुई देशको सम्बन्ध अगाडि बढाएको स्मरण उनले गरेका थिए। जवाफमा सभापति देउवाले चिनियाँ राष्ट्रपतिको सन्देशका लागि धन्यवादसँगै चिनियाँ कम्युनिष्ट पार्र्टीको आगामी वर्ष पार्टी गठनको एक सय वर्षको अवसरमा आफ्नो शुभकामना तथा बधाई सन्देश दिएको भट्टराईले जानकारी दिए। जवाफमा चिनियाँ उपमन्त्रीले सन ०२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्षगाँठको विशेष कार्यक्रममा सभापति देउवालाई आफूहरुले पार्टीको तर्फबाट निमन्त्रणा पठाउने जानकारी दिँदै जसरी पनि उक्त कार्यक्रममा सहभागी हुन देउवालाई आग्रह गरेका थिए। नेकपा विभाजनको विषयमा चिनियाँ प्रतिनिधि मण्डलले कुनै कुरा नउठाएपछि आफ्नो पक्षबाट यो विषय उठाउने कुरा उपयुक्त नभएको भन्दै यसबारे चर्चा नभएको जानकारी भट्टराईले दिए। नेपाल र नेपाली कांग्रेसको विषयमा हालै चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले हुम्लाको सीमा अतिक्रमणको विषयमा नेपाली कांग्रेस र यसका नेताहरुलाई भारत परस्त पार्टीको संज्ञा दिँदै भारत र पश्चिमा शक्तिको उक्साहटमा सीमा विवादको विषय उठाएको भन्ने आरोप लगाएको थियो। उक्त विषयमा कुनै औपचारिक कुराकानी नभएपनि सभापति देउवासँगको भेटवार्ताको सुरुमा नै दुई देश र वा पार्टीका बिचमा कहिले काँही कुनै कुरामा असमझदारीहरु उत्पन्न भएर भिन्नता पनि देख्न सकिन्छ तर, कांग्रेस हाम्रो राम्रो साथी हो भन्दै त्यस्ता असमझदारीका विषयहरु हामी आपसमा बसेर वार्ताका माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने भनाई राखेको उनले बताए। आफ्नो मुखपत्रको माध्यमबाट कांग्रेसप्रति लगाएको आरोपका विषयमा चिनियाँ उपमन्त्रीले कुटनीतिक रुपमा उक्त विषयलाई पर राख्ने प्रयास गरेको हुनसक्ने भट्टराईले बताए। करिब ४५ मिनेट लामो भेटवार्ताका क्रममा नेपालस्थित चिनियाँ राजदूतको भने उपस्थिति नभएपनि दूतावासका एक प्रतिनिधिका अतिरिक्त कांग्रेसका तर्फबाट पार्टी नेता नारायण खड्काको पनि उपस्थिति रहेको थियो।      
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update