हिमाल दैनिक
नेपाली कांग्रेसको नेतृत्वले आफ्नो पार्टी र नेतृत्वका विषयमा चिनियाँ पत्रपत्रिकामा आएका आक्षेपपूर्ण अभिव्यक्ति र टिप्पणीबारे चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँको सरकारको धारणा बुझ्ने काेशिश गरेकाे छ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनको समाचारबाट आत्तिएर ‘नेकपाकाे उद्दार र एकता प्रयास’का लागि नेपाल आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधि मण्डलसँग कांग्रेसका नेताले चासाे व्यक्त गरेका हुन्। यसरी कांग्रेस नेतृत्वले प्रश्न उठाउँदा त्यसबाट नेपाल र चीन अथवा कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीको सम्बन्धमा कुनै असर नपर्ने जवाफ चिनियाँ कम्युनिष्ट पार्टीकाे प्रतिनिधि मण्डलले दिएकाे छ। कांग्रेस सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ताका लागि मंगलबार बिहान बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेको चिनियाँ प्रतिनिधि मण्डलसँग कांग्रेसका नेता नारायण खड्काले यसबारे चासो व्यक्त गरेका थिए। केही समयअघि हुम्लाको सीमा क्षेत्रमा चिनियाँ पक्षले अतिक्रमण गरेको समाचारसँगै कांग्रेस नेता जीवनबहादुर शाहीले स्थलगत अध्ययन भ्रमणपछि सीमा अतिक्रमण भएको प्रतिवेदन सार्वजनिक गरेपछि चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँको सत्ताको मुखपत्रका रुपमा परिचित ग्लोबल टाइम्सले कांग्रेस र यसको नेतृत्वमाथि गम्भीर आक्षेप लगाएको थियो। उक्त पत्रिकाले कांग्रेस पार्टीलाई ‘प्रो–इण्डियन पार्टी’ भारत परस्त र यसका नेताहरुमाथि भारत र पश्चिमा मुलुकको उक्साहटमा चीनसँग सीमा विवादको विषय उठाएको भन्दै लेख प्रकाशित गरेको विषयमा नेता खड्काले कुरा उठाएको बैठकमा सहभागी पूर्व राजदूत तथा कुटनीतिज्ञ दिनेश भट्टराईले बताए। चिनियाँ उपमन्त्री क्वाेले कांग्रेस हाम्रो राम्रो मित्र हो र दुइ देशबीचको सम्बन्ध सुमधुर बनाउन कांग्रेसका संस्थापक नेता बी.पी. कोइरालाले निर्वाह गरेको भूमिकाको चीनले सधैँ उच्च प्रसंशा गरेकाे बताएपछि कांग्रेसका सभापति देउवासँगै नेता खड्काले पनि आफ्नो भावना र सोचाई पनि त्यही र त्यस्तै भएको जवाफ दिएका थिए। कांग्रेस (हामी)ले पनि चीनसँगको समबन्धलाई बी.पी.ले नै प्रयोग गरेको शब्द ‘प्यारामाउण्ट इम्पोटेन्स’ सर्वाधिक महत्वको सम्बन्धका रुपमा लिने सवालमा प्रतिबद्ध भएको जानकारी गराएका थिए। बी.पी. कै पालामा दुई देशबीचको सीमा विवाद समाधानका लागि भएको सहमतिकै आधार र परिणाम स्वरुप सन् १९६० को सीमा सम्झौता भएको तर, कहिले काँही चाइनिज मिडियाहरुमा नेपाल र नेपाली कांग्रेसप्रति जे जस्ता लेख, रचना र टिप्पणीहरु आउँछन् यसबारे चीन र चिनियाँ कम्युनिष्ट पार्टीको धारणा के हो? भनि कांग्रेस नेता खड्काले जिज्ञासा राखेका थिए। जवाफमा कहिलेकाँही असमझदारी उत्पन्न हुन सक्छ तर, दुबै देशका मित्रहरु बसेर वार्ता र सम्वादका माध्यमबाट त्यस्ता असमझदारीहरु हटाउन र देखिएका समस्या समाधान गर्न सकिन्छ नि भनि जवाफ दिएको भट्टराईले दिएको बताए। आइतबार नेपाल आइपुगेको चिनियाँ प्रतिनिधि मण्डलले आइतबार र सोमबार लगातार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका असन्तुष्ट पक्षका नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनालसँग भेटवार्ता गरी पार्टी एकीकरणलाई कायम राख्ने प्रयास गरेको थियो। यसका अतिरिक्त उक्त टोलीले सोमबार साँझ पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेको थियो। सो टोली बुधबार स्वदेश फर्किने बताएको छ। विगत सात दशकदेखि दक्षिणको छिमेकी राष्ट्र भारतले नेपालका हरेक राजनीतिक गतिविधिहरुमा प्रत्यक्ष वा परोक्ष संलग्न हुँदै आएको भनि आलोचना खेप्दै आएकोमा पछिल्लो समय उत्तरी छिमेकी राष्ट्र चीनले पनि नेपालमा आफ्नो चासोसँगै गतिविधिलाई बढाउँदै गएको छ।    
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update