विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको निरंकुश कदमको आयु तत्कालिन राजतन्त्रको आयु जस्तै समाप्त भएको बताएका छन्।
ओलीले पार्टीभित्रको विवादबाट भाग्दै संसद विघटन गरेपछि पार्टी विभाजनको संघारमा पुगेको अवस्थामा पार्टीको आधिकारिकता र संसद पुनस्र्थापनाको माग गर्दै पुष्पकमल दाहाल–नेपाल समूहले मंगलबार आयोजना गरेको शक्ति प्रदर्शन सभामा सम्बोधन गर्दै नेपालले ओलीमाथि आक्रोस व्यक्त गरे।
जनताले बनाएको संविधानको भावना र मर्मलाई ओलीले कुल्चिएर चालेको कदम राजनीतिक, संवैधानिक मात्र होइन राजनीतिक दल र जनताले चाहेको परिवर्तनको भावना र चाहना विपरित भएको भन्दै उक्त कदमको अस्विकार गर्दै आन्दोलनमा उत्रिएको बताए।
पूर्व प्रधानमन्त्री नेपालले प्रधानमन्त्री ओलीले जनआन्दोलनको खिसिट्युरी गर्दै वयल गाढा चढेर अमेरिका पुग्न सकिँदैन र सानो झुण्ड सडकमा ओर्लिएकै भरमा राजतन्त्र फालिँदैन भनि व्यक्त गरेको भनाई स्मरण गर्दै अहिले संविधान, संघीयता, लोकतन्त्रको मूल्य र मान्यतासँगै जनअधिकार र जनचाहनाका विरुद्धमा कदम चालेको कारण जनता सडकमा उत्रिएको बताए।
संसदमा रहेका सबै राजनीतिक दलका अतिरिक्त सदन बाहिर रहेका राजनीतिक शक्तिहरु र समाजका सबै वर्ग र तप्का अहिले ओलीको प्रतिगामी र संविधान विरोधी कदमको विरुद्धमा देशभरी सडकमा उत्रिएको उनले बताए।
उनले ओलीको कदमको कारण देशमा राजनीतिक अस्थिरता र जनताको सुख संमृद्धिको सपना भताभुंग बनाएको आरोप लगाए।
ओलीले संसद विघटनको विषयमा पार्टीको कुनै पनि निकायमा छलफल र निर्णय नलिई पार्टी प्रणाली र अनुशासन बाहिर गएर कदम चालेको भन्दै त्यसको कुनै पनि दृष्टिकोणबाट उचित मान्न नसकिने उनले बताए।
ओलीलाई स्वेच्छाचारी, निरंकुश र व्यक्तिवादी चरित्र भएको भन्दै उनमा लोकतन्त्रवादी वा कम्युनिष्टमा हुनु पर्ने कुनै पनि गुण नभएको बताए।
ओलीले गरेको अनुशासनहिन गतिविधिका कारण कारबाही गरेपनि अझै पनि उनी सुध्रिएलान कि भनि पार्टीबाट नहटाएको बताउँदै नेपालले कुनै नेताले उनलाई सुधार्न बालुवाटारको बालुवाटारको बालुवाबाट तेल निकालेमा स्याबासी दिने भन्दै उनी कुकुरको पुच्छर जस्तै बाङगो रहने बताए।
ओलीले आफ्ना सबै त्रुटि र कमिकमजोरी सच्याएर आउन तयार भए उनको विषयमा सोच्न सकिने तर, त्यो नभए उनलाई भीरबाट लड्ने गोरुलाई जस्तै काँध नथापेर राम राम मात्रै भन्ने बताए।
विगतमा निरंकुश राजतन्त्रको कदमविरुद्ध ज्ञानेन्द्रको कदमविरुद्ध जनआन्दोलनको सुरुवात गरेजस्तै अब ओली र ओलीतन्त्रको प्रवृत्ति विरुद्ध लड्नु परेको बताए।
उनले सबै वामपन्थी, लोकतन्त्रवादी र परिवर्तनकारी शक्तिलाई लोकतन्त्रका उपलब्धिहरुको रक्षार्थ आउँदो कही दशकसम्म मिलेर अघि बढ्न आग्रह गरे।
प्रतिनिधि सभा विघटन भएपछि त्यसको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने प्रावधान संविधानमा रहेको बताउँदै उनी कामचलाउ प्रधानमन्त्री भएपनि कुनै आधिकारिक निकायबाट कामचलाउ भएको वक्तव्य नआएको भन्दै राष्ट्रपति कार्यालयप्रति असन्तुष्टि व्यक्त गरे।
साथै उनले ओलीले अहिले पनि मन्त्री पद, सांसद र अन्य लाभका पदहरु बाँडिरहेको भन्दै लोकतन्त्रवादी इमान्दारहरुले त्यो अस्विकार गरेको बताए।
बालुवाटारमा भएको गुटको भेला भएपनि पार्टीको आधिकारिक बैठक कार्की बैंकेटमा भएको र आफूहरुले नेकपा कहाँ छ भन्नेहरुलाई मण्डलामा भेला भएर देखाएको बताए।
उनले पार्टीका २९५ केन्द्रीय कमिटी सदस्यहरुको हस्ताक्षरसहित निर्वाचन आयोगमा पार्टीको नाम र चुनावचिन्ह सूर्य हाम्रो हो भनि दाबीसहितको निर्णय बुझाएको भन्दै पार्टीको नाम र चुनाव चिन्हबारे कोही पनि भ्रममा पर्नु आवश्यक नभएको बताए।
संविधानमा संसद विघटनको विषयमा धारा ८५ को १ र ७६ को ५ मा रहेको प्रावधान र तत्कालिन संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र अग्नि खरेलले त्यतिबेला प्रधानमन्त्रीले संसद भंग गर्न नपाउने भनि व्यक्त गरेको भनाईबारे प्रश्न गरे।
प्रतिनिधि सभाको विघटन संसदबाट प्रधानमन्त्री निर्वाचित हुन वा विश्वासको मत पाउन नसक्ने अवस्थामा मात्र मध्यावधि निर्वाचनमा जान सक्ने व्यवस्था रहेको बताउँदै सडकमा देखिएको जनभावना र संविधानको भावना अनुसार सर्वोच्च अदालतको संवैधानिक इजलासले न्याय दिने विश्वास व्यक्त गरे।
साथै उनले प्रतिनिधि सभाको पनुस्र्थापना हुन्छ, हुन्छ, हुन्छ भन्दै अहिले कसैले पनि टाउको समाएर बस्ने होइन प्रतिगामी कदमको विरुद्ध सडकबाट उचित जवाफ दिन आग्रह गरे।
उनले घरमा खोजेजस्तै सन्तान नजन्मिए जस्तै अहिले नेकपामा पनि खोजेजस्तो सपुत बन्न ओली नसकेको भन्दै उनलाई समयले नै सजाय दिने चेतावनी दिए।
उनले ओली प्रधानमन्त्री भएपछि जनतालाई सुख कम, दुःख ज्यादा, अरुलाई मान कम अपमान ज्यादा दिने, लोकतान्त्रिक चरित्र र सामूहिकतामा चल्ने भन्दा व्यक्तिवादी र गुटवादी, निरंकुश र बदलाको भावना भएको आरोप लगाए।
ओेलीमा अरुलाई लोलीपप देखाएर लोभ्याउने गरेको भन्दै कहिले वामदेवलाई प्रधानमन्त्री र पार्टी अध्यक्षको लोभ देखाएको र त्यही दिन आफू र प्रचण्डलाई पनि अध्यक्ष र प्रधानमन्त्रीको लोभ देखाउने गरेको भन्दै तत्कालिन राजा ज्ञानेन्द्रसँग पनि यस्तै चरित्र रहेको बताए।
उनले त्यतिबेला आफूलाई बोलाएर गिरिजाबाबु र आफूलाई अलग अलग समयमा बोलाएर एकअर्काप्रति कुरा लगाएर फाटो पार्ने काम गरेपछि संयुक्त ररुपमा गएको र पछि दरबार नगई सडकमा गएर आन्दोलन तताएको बताए।
उनले सोभियत संघमा मिखाइल गोर्भाचोभ र वोरिस एल्सिन जन्मिएपछि कम्युनिष्ट पार्टी समाप्त पारेको बताउँदै नेपालमा ओलीले लोकतन्त्र र कम्युनिष्ट पार्टी समाप्त पार्न नसक्ने बताए।
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय