नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले गत निर्वाचनमा जुन आशा र भरोसाले पार्टी एकीकरण गरेर मत पाएको थियो त्यही आशा र भरोसामाथि प्रधानमन्त्री केपी शर्मा ओलीले घात गर्दा विरोधमा सडकमा उत्रनु परेको बताए।
उनले विगत ७० वर्षमा कहिले सशस्त्र र त कहिले शान्तिपूर्ण आन्दोलन गर्दै प्राप्त नयाँ संविधानले स्थापना गरेको लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामाथि ओलीबाट भएको प्रहारप्रति जनतासमक्ष क्षमा मागे।
ओलीको सिद्धान्त गणतन्त्रवादी नभएर वयलगाढावादी र निरंकुशतावादी मात्र धर्म निरपेक्षता वा संघीयतावादी नभएर अहिले पनि गणतन्त्र, संघीयता विरोधी र प्रतिगमनकारी नै रहेको भन्दै उनलाई सच्याउन नसकेकोमा आफूले क्षमा माग्दै भने, ‘हामीले बुझ्न सकिएनछ ओलीलाई। यति छिटो ओलीबाट संविधान, संघीयता र लोकतन्त्रमाथि हमला गर्लान् भन्ने सोच्न सकिएन।’
उनले ओलीले कम्युनिष्ट पार्टीको विधि, विधान र आदर्शदेखि माक्सवादी सिद्धान्तबाट स्खलित भएको कारण उनले भनेको लोकतन्त्र कति स्खलित र निरंकुश तानाशाह भएको आरोप लगाए।
ओलीको कदमले देश, संविधान र शासन व्यवस्थालाई भँड्खालोमा हालेको आरोप दाहालले लगाए।
विगतमा ०४७ सालको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको व्यवस्था र अधिकार भएपनि संविधान सभाबाट राजनीतिक अस्थिरताबाट पार पाउने उद्देश्यले त्यस्तो अस्थिरताको ठाउँ वा प्वाल नराखेको दाबी दाहालले गरे।
जब कि नयाँ संविधानको धारा ८५ को १ ०४७ सालको संविधानको धारा ४५ को उपधारा ३ को व्यवस्था जस्ताको तस्तै सारिएको छ।
तथापि दाहालले ओलीको संविधानमा हुँदै नभएको प्रावधान प्रयोग गरी संसद विघटन गरेको दाबी गलत भन्दै संसद अहिले पनि भंग नभएको तर, ओलीको काम गर्न नसकेको सरकार भंग गरेको आरोप लगाए।
जतिबेलासम्म उनले आफैँले बनाएको संविधानमाथि बलत्कार गरेँ र देश र जनतामाथि घात गरेँ भनि क्षमा माग्दैनन् त्यतिबेलासम्म उनलाई इतिहासले क्षमा नदिने दाबी पनि दाहालले गरे।
दाहालले अहिले सडकमा देखिएको जनआवाजसँगै संविधानको भावना र मर्मलाई सर्वोच्च अदालतले बुझेर न्याय निरुपण गर्ने आशा व्यक्त गरे।
उनले ओलीको कदमविरुद्ध सडकमा उठेको आन्दोलनले न्याय निरुपण प्रभावित पार्न नभई सहजीकरणको लागि भएको बताए।
मदन भण्डारीले ०४६ सालमा आन्दोलनको क्रममा भनेजस्तै आजको प्रदर्शन आन्दोलनको सुरुवातमा आएको भत्क्यौरो मात्र हो, आन्दोलनको जन्ती आउन बाँकी नै भएको उनले बताए।
ओलीलाई चेतावनीपूर्ण भाषणमा यदी समयमै जनताको भावना बुझेर अघि नबढे जनताले निरंकुश ओली र ओलीतन्त्रलाई बढारेर छाड्ने दाबी दाहालले गरे।
ओलीले अहिले एक्कैचोटी संसद विघटन गरेको नभई विगत एक वर्षदेखि नै यसबारे गृहकार्य गर्दैआएको आरोप लगाए।
गत वर्ष वैशाखमा पार्टीभित्र बैठक चलिरहेकै बेला आफ्नै पार्र्टी र अन्य दल विभाजनको योजना बनाएर दल विभाजन सम्बन्धि अध्यादेश ल्याएको र महोत्तरीबाट मानिसलाई जबरजस्ती ल्याएर समाजवादी पार्टी फुटाउन खोजेको आरोप लगाए।
कोरोना महामारीका विरुद्ध लड्न र देश र जनतालाई सुरक्षित गर्नु पर्ने बेलामा जनतालाई राहत दिन र जनताको सुरक्षा गर्न भन्दा ओलीको ध्यान पार्टी फुटाउन केन्द्रीत गरेर अध्यादेश ल्याएको दाहालले बताए।
त्यसैगरी असारमा ओली आफैँले आफ्ना केही मानिसलाई लगाएर निर्वाचन आयोगमा एमाले दर्ता गराएर पार्टी फुटाउने योजना बनाएको भन्दै उनी निरन्तर रुपमा पार्टी विभाजनकै दिशामा क्रियाशील रहेको आरोप पनि दाहालले लगाए।
त्यही क्रियाकलापको उत्कर्ष अहिलेको स्थिति आएको बताए।
पुस ५ गते संसद विघटनको दिशामा बढेको सूचना पाएपछि त्यसले देशलाई दुर्घटनामा जाने स्थिति देखेर बिहान ८ बजे नै फोनमार्फत सम्झाएर कुनै निर्णयमा नजान भनेँपछि हुन्छ भने। तर, त्यसको केहीबेरमै मन्त्रिपरिषदको बैठक बोलाएपछि आफू बालुवाटार पुग्दा ओली निस्किएर राष्ट्रपतिको गएर संसद विघटन गराएको भन्दै उनी सबैभन्दा ठूलो जाली, झेली भएको बताए।
ओलीले संविधान, लोकतान्त्रिक संघीय गणतन्त्र र जनताका विरुद्ध नियोजित षडयन्त्र गरेर संसद विघटन गरेको आरोप लगाए।
ओलीको प्रतिगामी कदमलाई रोक्न अरु विकल्प नभएको भन्दै त्यसका विरुद्ध आफूहरु सडकमा आएको भन्दै सात दशकपछि प्राप्त सार्वभौम अधिकार दुई जना व्यक्ति (राष्ट्रपति र प्रधानमन्त्री) मिलेर गर्न नमिल्ने बताए।
राष्ट्रपति कार्र्यालयबाट फर्किएपछि तपाईले सिध्याउनु भयो भन्दा होइन, मिलेर चुनावमा जाउँ भनेको र आफूले व्यवस्था सिध्याएर चुनाव हुन्छ भनि प्रश्न गरेको बताए।
ओलीको मनस्थिति प्रतिक्रान्तिकारी दिशामा जान हतारिएकै कारण हठातमा संसद विघटन भएको बताए।
विगतमा संविधान जारी गर्ने क्रममा देशभित्र र बाहिरबाट आएको दबाबका बाबजूद जारी संविधान उनीहरुलाई मन नपरेको र त्यसको पक्षपोषण गरी प्रतिक्रान्तिकारीको गोटी ओली भएको आरोप लगाए।
संविधान, लोकतन्त्र र जनताको अधिकारको रक्षाका लागि आवश्यक पर्यो भने यो भन्दा कडा र निर्मम आन्दोेलनको कदम चाल्ने बताउँदै आफू ओली जस्तो ढाँटछल गर्न नजान्ने बताए।
सचिवालय बैठकमा कुर्सी हटाएर अर्कोतिर राख्दा ओलीलाई धन्यवाद दिएको बताउँदै अहिले सडकमा जुलुस र नारा लगाउँदै सडकमा आउँदा सदन भंग गरेर जनताको छोरो बनाउन सहयोग गरिदिएकोमा धन्यवाद दिए।
सत्तामा पुगेपछि नेताहरु बिग्रीने गरेको भएपनि आफूलाई ओेलीले सडकमा जनतामाझ पठाएर राम्रो गरेको बताए।
संसदको पुनस्र्थापना र प्रतिगमनकारी कदम नसच्चिएसम्म आफूले सुरु गरेको आन्दोलन नरोकिने बताए।
साथै उनले आफूहरुले जनताको साथमा र ओली प्रतिगमनकारीको साथमा उभिएपछि आफूहरुले नै लडाइ जितिसकेको घोषणा गरे।
उनले अदालतको नाम नलिई यो विषयलाई जनभावनाको चाहना बमोजिम जतिसक्दो छिटो निर्णय दिन आग्रह गरे। अदालतप्रति आफूहरुको आशा, भरोसा र विश्वास भएपनि अन्तिम आशा र भरोसा जनतामाथि नै रहेको बताए।
पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगलाई चाहिन्छ भने ३ सय जना सदस्यकोे लाइन लगाउन तयार रहेको उनले बताए।
नेपालमा चुनाव गराउनका लागि घोषणा नभएको भन्दै स्वयं ओलीलाई नै भरोसा नभएको चुनावमा जित्ने लोभ नराख्न विपक्षी दललाई सचेत गराए।
उनले वैशाख उता ओली प्रधानमन्त्री पनि नरहने र उनको पत्तासाफ हुने बताउँदै यदी कसैले कम्युनिष्ट पार्टी फुटेर चुनावमा फाइदा लिने हो भने पनि जनताले बनाएको संविधान र लोकतन्त्र नबचाएर कसरी चुनाव हुन्छ भनि प्रश्न गरे।
प्रधानमन्त्रीले चाहेको बेला संसद भंग गर्ने नजिर कायम भएमा भोलिका दिनमा चुनाव नै भएछ भने पनि केही उपलब्धि नहुने भन्दै विपक्षी दलसँग हातेमालो गर्दै यो त्रुटि सच्याएर अघि बढ्न अपिल गरे।
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय